लन्डन: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी तथा फिल्म निर्माता जेमिमा गोल्डस्मिथले आयरिस–अस्ट्रेलियाली व्यवसायी तथा फाइनान्सर क्यामरन ओ’राइलीसँग दोस्रो विवाह गरेकी छन्।
गोल्डस्मिथ परिवारले विवाहको पुष्टि गर्दै यस अवसरमा खुसी व्यक्त गरेको छ। ५२ वर्षीया जेमिमा र ६२ वर्षीय ओ’राइलीले सप्ताहन्तमा भव्य समारोहबीच विवाह गरेको बताइएको छ।
जेमिमा र पाकिस्तानका पूर्वक्रिकेटर तथा राजनीतिज्ञ इमरान खानबीच सन् १९९५ मा विवाह भएको थियो। करिब नौ वर्ष वैवाहिक सम्बन्धमा रहेपछि उनीहरूले सन् २००४ मा सम्बन्धविच्छेद गरेका थिए। उनीहरूका दुई छोरा- सुलेमान र कासिम छन्।
इमरान खान हाल रावलपिन्डीस्थित जेलमा बन्दी जीवन बिताइरहेका छन्। जेमिमाले भने सम्बन्धविच्छेदपछि फिल्म निर्माणलगायत विभिन्न क्षेत्रमा आफ्नो व्यावसायिक पहिचान बनाएकी छन्।
क्यामरन ओ’राइली व्यवसाय तथा वित्तीय क्षेत्रमा परिचित व्यक्तिका रूपमा चिनिन्छन्। जेमिमा र ओ’राइलीको विवाह समारोहमा परिवार तथा निकट व्यक्तिहरूको उपस्थिति रहेको बताइएको छ।





