गान्तोक: इन्द्रजात्राको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, इन्द्रजात्रा नेवार समुदायद्वारा हर्षोल्लासका साथ पालन गरिने एउटा सबैभन्दा ठूलो चाड हो। यो चाड भक्तहरूद्वारा भगवान इन्द्रप्रति सम्मान जनाउन अनि राम्रो फसलका लागि आर्शीवाद माग्न मनाउने गरिन्छ। अर्का महत्वपूर्ण कार्यक्रमहरू कुमारी जात्रा जीवित देवी कुमारीको रथयात्रा र भगवान भैरवको पूजा अर्चना हो।
मुख्यमन्त्रीले इन्द्र जात्रामा लाखे नृत्य, पुलु किशी नृत्य, कुमारीको रथयात्रा र विभिन्न देवताहरूको भेषमा कुमारीहरूको शोभायात्रा आदि सम्पन्न गरिन्छ भनी सन्देशमा जनाएका छन्। उनले भगवान इन्द्रसॅंग समस्याहरू समाधान गर्न सबैलाई रचनात्मकता र कौशल प्रदान गरून् भनी प्रार्थना गरेका छन्। भगवान इन्द्रले सबैलाई सुख, शान्ति अनि समृद्धि प्रदान गरून् भनी कामना पनि गरेका छन्।











