इन्डो प्यासिफिक क्षेत्रमा नेपाल महत्त्वपूर्ण साझेदार हो: अमेरिकी विदेशमन्त्री ब्लिन्केन

sherbahadur-deuba-and-Antony-Blinken.jpg

काठमाडौं: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण साझेदार रहेको बताएका छन्। एक साता लामो अमेरिका भ्रमणमा वासिङ्टन डिसी पुगेका नेपालका परराष्ट्रमन्त्री एनपी साउदसँग द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ब्लिङ्केनले यस्तो बताएका हुन्। ‘इन्डो प्यासिफिकमा अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण साझेदार हो’, अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले भने। उनले अमेरिका र नेपालबिच ७६ वर्षको कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। ‘हाम्रो जनस्तरको सम्बन्ध, आर्थिक सम्बन्ध, लगानीलगायत कुराहरूबाट द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र अझ बलियो बनाउन काम गर्नेछौं,’ उनले भने, ‘हामी स्वतन्त्र, खुला, सुरक्षित,ल र समृद्ध क्षेत्र सुनिश्चित गर्नका लागि सँगै काम गरिरहेका छौं। धेरै अर्थम नेपाल क्षेत्रीय मात्र नभई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय संस्थाहरूमा धेरै रचनात्मक रुपमा नेतृत्व गरिरहेको मुलुक हो।’ उनले नेपालले धेरै शान्ति सेनामार्फत विश्वलाई द्वन्द्वबाट शान्तिमा स्थापनामा सहयोग पुर्‍याइरहेको भन्दै प्रशंसा समेत गरे। ब्लिन्केनले इजरायलमा हमासद्वारा मारिएका १० जना नेपाली विद्यार्थीहरूप्रति अमेरिकाको तर्फबाट समवेदना व्यक्त गरे।संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र अमेरिकाबीच निकै लामो र घनिष्ट सम्बन्ध रहेको उल्लेख गरे। ‘अमेरिका नेपालको विकास साझेदार हो। अमेरिकाले नेपाललाई धेरै क्षेत्रमा मद्दत गरिरहेको छ’, परराष्ट्रमन्त्री साउदले भने।

About Author

Advertisement