इन्डिगोको विमानभित्र ‘पावर बैंक’ पड्किँदा भागदौड

Screenshot_20260505_232544_Instagram

चण्डीगढ: हैदराबादबाट चण्डीगढका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा मंगलबार प्राविधिक उपकरणका कारण आगलागी भएपछि यात्रुमाझ रुवाबासी र भागदौड मच्चिएको छ। विमानभित्र धुवाँ भरिएपछि चालक दलले सतर्कता अपनाउँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
​१९८ यात्रु, २ शिशु र ६ चालक दलका सदस्यसहितको उडान संख्या ६इ-१०८ मंगलबार दिउँसो ३:२९ बजे चण्डीगढस्थित शहीद भगत सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो। अवतरणपछि विमान ट्याक्सी वेतर्फ गुडिरहेका बेला सिट नम्बर ३९सी मा रहेका एक यात्रुको ‘पावर बैंक’ अचानक पड्किएर आगो लागेको थियो।
​विमानभित्र धुवाँ फैलिएपछि क्रू मेम्बरले तुरुन्तै ‘फायर एक्सटिंग्विशर’ प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए। सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो। ३:३५ बजे विमानको आपत्कालीन ढोका खोलेर यात्रुहरूलाई ‘स्लाइड’ (चिप्लेटी) मार्फत बाहिर निकालिएको थियो। उद्धारका क्रममा एक महिला यात्रुको खुट्टामा सामान्य चोट लागेको छ।
​विमानस्थलमा रहेका भारतीय वायुसेनाको दमकल टोली तुरुन्तै घटनास्थल पुगे पनि चालक दलले स्थिति नियन्त्रणमा लिइसकेका थिए। विमानमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक डिभाइस) को प्रयोग र सुरक्षा संवेदनशीलतालाई लिएर यो घटनाले पुनः बहस सिर्जना गरेको छ। यसअघि पनि चेन्नई विमानस्थलमा एयर अरेबियाको विमानमा यस्तै प्रकृतिको घटना सार्वजनिक भएको थियो।

About Author

Advertisement