आठौं पदमसिंह सुब्बा ‘अपतन’ व्याख्यानमाला: अदृश्य कलमबाट साहित्य लेखनका सम्भावित चुनौतीहरूमाथि व्याख्यान प्रस्तुत

IMG-20240926-WA0334

गान्तोक: सिक्किम अकादेमीको तत्वावधानमा आज आठौं पदमसिंह सुब्बा “अपतन” व्याख्यानमाला कार्यक्रम राजधानी गान्तोकको सर टाशी नाम्ग्याल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। व्याख्यानकर्ता थिइन् अल इण्डिया रेडियो गान्तोककी पूर्व समाचार वाचिका, साहित्यकार अनि एक चिन्तक श्रीमती अनिता निरौला। वरिष्ठ साहित्यकार पद्मश्री सानु लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा सिक्किम सरकारका स्वास्थ्य अनि सांस्कृतिक मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथि रहेका थिए। यसरी नै साहित्यकार तथा परी प्रकाशन, सोरेङका अध्यक्ष सीपी भट्टलाईलगायत अन्य वरिष्ठ साहित्यकारहरूको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको आरम्भ मुख्य अनि विशिष्ट अतिथिहरूद्वारा स्व. पदमसिंह सुब्बा अपतन-को तस्वीर अघि दीप प्रज्ववल र खादा अर्पणबाट भएको थियो। त्यसपछि व्याख्यानकर्ता श्रीमती अनिता निरौलाले आजको व्याख्यानको विषय “अदृश्य कलमबाट साहित्य लेखनः सम्भावित चुनौतीहरू”- माथि वार्ता प्रस्तुत गरिन्। आफू पर्दापछि तथा अदृश्य रहेर कसैको निम्ति तथा कसैको नाममा लेखिने साहित्यले समाजमा के-कस्ता प्रभाव पार्न सक्छ अनि यस्तो साहित्य लेखनले कस्ता चुनौतीहरू निम्ताउन सक्छ भन्ने बारेमा उनले आफ्नो विचार व्यक्त गरिन्। श्रीमती निरौलाले वर्तमान समयमा निकै प्रयोगमा रहेको “एआइ” अथवा “आर्टिफिस्यल इन्टेलिजेन्स” पनि एक प्रकारको अदृश्य लेखन नै हो भन्दै एआइ-को प्रयोगले निम्ताउने सम्भावित चुनौतिहरूमाथि पनि प्रकाश पारिन्।
कार्यक्रममा छोटो सम्बोधन राख्दै मन्त्री जीटी ढुङ्गेलले यसरी बौद्धिक खुराकको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै सिक्किम अकादेमीको पहलको सराहना गरे। साहित्य र साहित्यकार समाजका पथ प्रदर्शकहरू हुन भन्दै साहित्य र साहित्यकारहरूलाई सदैव सम्मान गरिनुपर्ने कुरामा उनले जोर दिए। मन्त्री ढुङ्गेलले वर्तमानमा युवा वर्गमा व्याप्त कतिपय गलत आचरण अनि कुसंस्कारमाथि चिन्ता व्यक्त गर्दै साहित्यले यस दिशामा चेतना जगाउने काम गर्नुपर्ने आफ्नो विचार व्यक्त गरे।
सभाध्यक्ष सानु लामाको सम्बोधनको साथमा समाप्त भएको कार्यक्रममा सिक्किम अकादेमीद्वारा मुख्य अतिथि मन्त्री जीटी ढुङ्गेल र व्याख्यानकर्ता श्रीमती अनिता निरौलालाई अभिनन्दन जनाइयो भने केही सांस्कृतिक प्रस्तुती पनि कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो।

About Author

Advertisement