काठमाडौं: आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा (माउन्ट एभरेष्ट)को ७०औँ वर्षगाँठ मनाइएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको हो। सन् २९ मई १९५३ मा आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा आफ्नो पाइला टेकेका थिए। सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइएको हो। नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ। दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ। कार्यक्रमअनुसार आज बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिएको छ।
ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हलमा आएर सभामा परिणत भएको थियो। कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरियो। सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलोपटक आरोहीलाई पदक प्रदान गरिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिएका छन्।










