आजबाट मिस नेपाल-२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

Miss-Nepal-2023-Participants-13

काठमाडौँः मिस नेपाल-२०२३ को प्रतिस्पर्धा आज (बिहीबार)देखि औपचारिक रुपमा सुरु भएको छ। ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो। द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन्। सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा प्रवेशको मौका पाउनेछिन्। हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले दर्शकले खल्ती एपमार्फत मतदान गर्न सक्ने बताए। बढीभन्दा बढी भोट पाउन प्रतिस्पर्धीले सामाजिक सञ्जालदेखि सार्वजनिक थलोमा समेत अभियान चलाइरहेका छन् भने भोटका लागि अपील गरिरहेका छन्।

सिधै फाइनलमा प्रवेश गर्न सकिने भएकाले पनि यो विधामा जित निकाल्न सुन्दरीबीच प्रतिस्पर्धा चल्ने गर्छ। फाइनल पुग्ने छोटो बाटो भएकाले पनि मिस पपुलर च्वाइस विधा जित्नैपर्ने दबाब प्रतिस्पर्धीमाझ छ । ग्राण्ड फिनाले हुने दिन जेठ १३ गते बेलुका ५ बजेसम्म दर्शकले यो विधामा मतदान गर्न पाउनेछन्। ‘अब अन्य विधाको प्रतिस्पर्धाको लागि पनि हामी तयारीमा छौं,’ निर्देशक कंसाकारले भने। पहिलोपटक मिस नेपालका दुई विधाको प्रतिस्पर्धा यसपटक पोखरामा हुँदैछ। यस वर्षको मिस नेपालमा प्रतिस्पर्धी अंकअनुसार क्रमशः राइना मजगैंया, स्मारिका कार्की, प्रज्ञा बज्राचार्य, कविना श्रेष्ठ, आयुषा महर्जन, कीर्ति बर्तौला, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्वीञ्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री र प्रीतिका खड्का प्रतिस्पर्धामा छन्।

About Author

Advertisement