गोरामुमोद्वारा धन्यवाद ज्ञापन
खरसाङ: सोमवार १ जूनदेखि खरसाङको रोहिणी रोडमा टोल प्लाजामा कुनै शुल्कबिना नै गाडीहरु कुद्न शुरु भएको छ। गत केही समय अघि दार्जिलिङका सांसद राजु विष्टले घोषणा गरे अनुसार सोमवार १ जूनदेखि टोल ट्याक्सबिना नै गाडीहरु कुद्न थालेको छ। यसको साथै सोमवार बिहान गोरामुमो समर्थकहरु टोल प्लाजामा आएर टोल प्लाजामा गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङ र वर्तमान पार्टी अध्यक्ष मन घिसिङको पोष्टर लगाएका छन्। सोमवारदेखि टोल प्लाजामा कुनै शुल्कबिना नै गाडीहरु कुद्न थालेपछि राज्यमा भएको सत्ता परिवर्तन र भाजपाको गठबन्धनको रुपमा रहेको राजनीतिक दल गोरामुमोले यसलाई ठूलो जीतको रुपमा हेरेको छ। किनभने तत्कालीन दार्जिलिङ गोर्खा पार्वत्य परिषदको चेयरम्यान एंव गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङले खरसाङको रोहिणी रोड निर्माण गरेका थिए। रोहिणी मार्गको टोल शुल्क खारेज भएपछि गोरामुमोद्वारा धन्यवाद ज्ञापन गरिएको छ। लामो समयदेखि खरसाङको रोहिणी रोड प्रयोग गर्ने सर्वसाधारण, गाडी चालकहरु, व्यापारी तथा यात्रीहरूले भोग्दै आएको टोल शुल्कको भार अन्ततः हटाइएको छ। रोहिणी रोड हालमा दार्जिलिङ पहाड र तराईलाई जोड्ने प्रमुख रोड हो। यस रोडमा लाग्दै आएको टोल शुल्कका कारण स्थानीय बासिन्दा, दैनिक यात्रीहरु, व्यवसायी तथा गाडी चालकहरू आर्थिक रूपमा प्रभावित हुँदै आएका थिए। उक्त टोल प्रणाली समाप्त भएसँगै जनताले ठूलो राहत महसुस गरेका छन् भनी गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले जनाएका छन्। उनले भने, यस उपलब्धिलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङको नेतृत्वमा निरन्तर उठाइँदै आएको जनसरोकारको मुद्दाको सकारात्मक परिणामका रूप हो। जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसमक्ष विषयलाई प्रभावकारी रूपमा गोरामुमोले निरन्तर कार्य गरेका थिए।

दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले पनि सडक पूर्वाधार, जनहितका विषय तथा क्षेत्रीय विकासका मुद्दाहरूमा निरन्तर पहल गर्दै आएका छन् र उनको प्रशासनिक पहलले पनि ट्याक्स बन्द भएको भन्दै निमा लामाले जनाउँदै सांसद राजु बिष्टप्रति धन्यवाद दिदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट आभार व्यक्त गरेका छन्।










