आगुतलाई पराजित गरी मालोर्का च्याम्पियनशीप जिते सितसिपासले

२६ जूनः स्टीफन सितसिपासले विम्बल्डनको असल तयारी गर्दै शनिवार पाल्मामा खेलिएको फाइनलमा रोबर्तो बतिस्ता आगुतलाई पराजित गरी मालर्का टेनिस च्याम्पियनशीपको खिताब जिते। सोमवारदेखि अल ईंग्ल्याण्ड क्लबमा शुरु भइरहेको विम्बल्डन अघि सितसिपासको एटीपी टूरमा यो पहिलो ग्रास कोर्ट खिताब हो। ग्रीसका दोस्रो वरीयता प्राप्त सितसिपासले आगुतलाई ६-४, ३-६, ७-६ (२)-ले पराजित गरी खिताब जिते। निर्णायक सेटको फसेला टाईब्रेकरमा भयो। सितसिपासको यो सत्रको ४०औं जीत हो। यसबाहेक यो उनको करियरको नवौं अनि सत्रको दोस्रो खिताब हो। उनले अप्रेलमा मोण्टे कार्लो टुर्नामेण्टमा खिताब कायम राखेका थिए। विश्व ऱ्याङकिङमा छैटौं स्थानमा रहने सितसिपासले विम्बल्डनको पहिलो राउण्डमा एलेक्जेण्डर रिचार्डको चुनौती स्वीकार्नेछन्।

About Author

Advertisement