बागडोगरा: कोलकातामा भर्खरै मात्र पर्यटन विभागको कार्यभार सम्हालेपछि पश्चिम बङ्गलाका नव-नियुक्त पर्यटन मन्त्री डा. शङ्कर घोष शुक्रबार पहिलोपल्ट बागडोगरा विमानस्थल आइपुग्नुभयो। यहाँ आइपुग्दा उहाँलाई भव्य रूपमा स्वागत जनगाइयो। विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. घोषले अबदेखि पर्यटन विभाग र संसदीय मामिला विभागले जनताको प्रतिक्रिया (फिडब्याक) लाई आधार मानेर आपसी समन्वयका साथ काम गर्ने कुरा बताउनुभयो। यसका साथै विश्व पर्यटनको मानचित्रमा पश्चिम बङ्गलाको उपस्थिति र पहिचानलाई अझ मजबुत बनाउनका निम्ति हरसम्भव प्रयास गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
मन्त्री डा. घोषले अघि भन्नुभयो कि आगामी तीन महिनाभित्रै राज्यको पर्यटन क्षेत्रमा स्पष्ट र ठुलो फेरबदल देख्न पाइनेछ। पश्चिम बङ्गलामा पहाडदेखि लिएर समुद्र र जङ्गलसम्मका विविध पर्यटकीय आकर्षणहरू रहेका छन्, जसलाई अझ राम्रोसँग सजाउने र प्रवर्द्धन गर्ने काम गरिनेछ। पर्यटनका अवसरहरूलाई समाजका हरेक वर्गसम्म पुर्याइनेछ, जसमा अहिलेसम्म पर्यटकीय गतिविधिहरूमा सामेल हुन नपाएका सर्वसाधारणहरूलाई पनि समेटिनेछ। पर्यटन क्षेत्रमा रहेका वर्तमान समस्याहरूलाई कानुनी दायराभित्रै रहेर समाधान गरिनेछ र पर्यटकहरूका लागि सुविधाहरू एवं समग्र अनुभवलाई सुधार्न विशेष ध्यान दिइनेछ। भारतको पर्यटन क्षमतालाई विश्व स्तरमा प्रवर्द्धन गर्दै पश्चिम बङ्गलालाई एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा अझ बलियो बनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको कुरामा उहाँले जोड दिनुभयो।








