कालचिनीः कालचिनी थाना अन्तर्गत गंगुटिया चियाबारीको गुम्बा लाइन स्थित पुर्ण लामाको घर सोमबार बिहान ११.३० बजी हठात आगो लागेर स्वाहा भएको घटना प्रकासमा आएको छ। घरमा आगो लाग्दा परिवार सदस्यहरू कोही कमानको काममा त कोही घर बाहिरको काममा रहेको थियो भने उक्त घरबाट बाक्लो धुवाँ निस्केको गाउँलेहरूले देखेपछि मात्र आगो लागेको सबैले थाह पाएको थियो। गाउँलेहरूले हातेमालो गरेर आगो नियन्त्रणमा ल्याउँदा हेमिल्टनगञ्जबाट दमकलको एउटा इन्जिन आएर आगोमाथि पूर्णतया नियन्त्रण पाउन सफल भएको थियो। उक्त आगलागीले पुर्ण लामाको घरभित्र रहेको खटिया, ओछ्यान, दराज, सोकेश, फर्निचर र सबै कागजपत्र जलेर स्वाहा भएको गाउँलेहरूले जनाएका छन्। घटनास्थलमा गारोपाड़ा ग्राम पञ्चायतको प्रधान कमला महली लगायत तृणमूल कालचिनी ब्लक सभापति असिमकुमार लामा र कालचिनी बीडीओ कार्यालयका कर्मचारी अनि पुलिसबल पुगेर सम्पूर्ण घरको क्षतिको निरीक्षण गरेपछि पीडित परिवारलाई तत्काल जीआर सामग्री साथै पकाइखाने भाँडा बर्तन प्रदान गरिएको थियो। ग्राम पञ्चायतबाट सीएटी रिपोर्ट तयार गरिएको र सरकारी क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको गारोपाड़ा ग्राम पञ्चायतका प्रधान कमला महलीले जनाएकी छन्। यता घटनास्थलमा पुगेका तृणमूल कालचिनी ब्लक सभापति असिमकुमार लामाले पीडित परिवारलाई आफ्नो व्यक्तिगत पक्षबाट १० हजार रुपियाँ मदत दिएका छन् भने सरकारी सुविधाको निम्ति जतिसक्दो मदत हुन्छ त्यो गरिदिने आश्वासन दिएका छन्।
यता पीडित पूर्ण लामाले घरभित्र भएका जम्मै सरसमानहरू ओछ्यान केही बाँकी नरहेको दुख पोखेका छन्। यद्यपि राहत दिन पुगेका तृणमूल कालचिनी ब्लक सभापति असिमकुमार लामा र गारोपाड़ा अञ्चल नेता रञ्जित प्रधानले पीडित पूर्ण लामाको परिवारको दुखमा आफूहरू साथ रहेको र जे मदत सक्छ गरिने जनाएका छन्।










