आकाशवाणी खरसाङमा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती समारोह सम्पन्न

IMG-20230713-WA0273.jpg

खरसाङ: आकाशवाणी खरसाङको आयोजनामा आज यहाँको चानबारी नजिक ट्रान्समिटर भवनमा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती विविध कार्यक्रमको साथमा पालन गरियो। समाजसेवी टीटी लामा मुख्य अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कार्यालय प्रमुख जितेन रोय, कार्यक्रम प्रमुख पारसचन्द्र आले, समाचार प्रभाग प्रमुख एसपी सुनुवार, आकाशवाणी खरसाङको पूर्व निर्देशक बलराम राई लगायत अन्यहरू उपस्थित रहेका थिए।

प्रिसिला मुखिया अनि नम्रता सुन्दासले सञ्चालन गरेको कार्यक्रममा राङभाङ उच्चत्तर माध्यमिक विद्यालय, मङ्पु क्षेत्रको लाब्दा जुनियर हाई स्कूल,दिलारामको सन्त जेभियर्स हाई स्कूल अनि तीनधारेको एउटा शैक्षिक संस्था प्रतिमा इन्स्टीट्युटका विद्यार्थीहरूले भानुभक्त सम्बन्धी रामायण पाठ लगायत नाटक लगायत अन्य कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा आकाशवाणीका उदघोषिकाहरू र अन्यहरूले पनि उत्कृष्ट रामायण पाठहरू गरेका थिए।

कार्यक्रममा उपस्थित आकाशवाणी खरसाङका कविहरू क्रमैले सुवास छेत्री भावुक, हनोक थापा, प्रिसिला मुखिया, झुमा निरौला, बिनीता लामा बोस, शशि आले, उषाकिरण सत्यदर्शी आदिले कविता, गजल, वार्ता आदि प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि टीटी लामाले आदिकवि भानुभक्त हामी नेपालीहरूको निम्ति एक आदर्श रहेको जनाउँदै उहाँको जातिप्रतिको कार्यले आज सबैले भाषा अनि साहित्यमा केही गर्ने प्रेरणा पाएको जनाए।

कार्यालय प्रमुख जितेन रायले भाषाले हामीलाई एक-आपसमा बाँधेर राख्छ भनी जनाउँदै सदैव आफ्नो भाषाको रक्षा गर्ने आग्रह गरे। बङ्गला भाषामा कवि रवीन्द्रनाथ ठाकुरलाई जसरी श्रद्धा गरिन्छ त्यसरी नै नेपाली भाषा र साहित्यमा कवि भानुभक्त आचार्यलाई पनि उत्तिकै श्रद्धा र सम्मान गरिन्छ भनी बताए। कार्यक्रममा धन्यवाद ज्ञापन योजना मोहोराले गरेकी थिइन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र र शिक्षक शिक्षिकाहरूलाई स्मृति चिन्ह प्रदान गरिएको थियो।

कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै आकाशवाणीका कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आजको कार्यक्रम खुबै रोचक अनि उत्कृष्ट रहेको जनाए। उनले यो कार्यक्रम यहीँ ट्रान्समिटरमा गर्नुको कारणबारे बताउँदै बन्द अवस्थामा रहेको यस ट्रान्समिटर भवनको स्याहार सुसार होस् अथवा यसको गरिमा यथावत् रहोस् भन्न हेतुले यसपल्ट यहाँ गरिएको पनि जानकारी दिएका छन्।

About Author

Advertisement