गुवाहाटी: असम पुलिसले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा ६ करोड भारतीय रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागूऔषध बरामद गर्नुका साथै पाँच जनालाई पक्राउ गरेको छ।
असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार कार्बी आङ्लोङ पुलिसले ३ किलो मोर्फिन र श्रीभूमि पुलिसले ३० हजार पिस याबा ट्याब्लेट जफत गरेका हुन्। बरामद दुवै लागूऔषधको बजार मूल्य ३-३ करोड गरी कुल ६ करोड रुपैयाँ रहेको बताइएको छ।
तस्करहरूले जुत्ता, ब्याट्री कम्पार्टमेन्ट र अल्टो कारमा लुकाएर लागूऔषध ओसारपसार गर्न खोजेका थिए। लागूऔषधविरुद्धको अभियानमा ठूलो सफलता मिलेको भन्दै मुख्यमन्त्री सरमाले असम पुलिसको प्रशंसा गरेका छन्।





