नयाँ दिल्ली: भारतीय कांग्रेसका प्रभावशाली नेता पवन खेड़ा दिल्ली ओर्लिँदा समर्थकहरूले भव्य स्वागत गरेका छन्। सर्वोच्च अदालतबाट अग्रिम जमानत पाएपछि दिल्ली आइपुगेका खेड़ालाई स्वागत गर्न विमानस्थलमा कार्यकर्ताहरूको ठूलो भिड लागेको थियो।
असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाकी पत्नी रिंकी भुइयां सरमाले दर्ता गराएको एफआईआरका सम्बन्धमा सर्वोच्चले उनलाई राहत दिएको हो। रिंकी भुइयां सरमासँग धेरै वटा पासपोर्ट रहेको भनी खेड़ाले टिप्पणी गरेको आरोपमा असम पुलिसले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।
संविधान नै संकटमोचक: खेड़ा
दिल्ली विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खेड़ाले आफूले पाएको राहत बाबासाहेब भीमराव अम्बेडकरले लेखेको संविधानको जित भएको बताए। उनले भने, “जब कुनै व्यक्ति संकटमा हुन्छ वा दमनकारी सरकारको विरुद्ध लडिरहेको हुन्छ, तब अम्बेडकरको संविधान नै उसको रक्षाका लागि अगाडि आउँछ। मेरो मामलामा पनि संविधान नै संकटमोचक बन्यो।”
उनले सर्वोच्च अदालतको आदेशले देशमा एउटा स्पष्ट सन्देश दिएको उल्लेख गर्दै थपे, “जब सरकारले आम नागरिक वा विपक्षीको अधिकार हनन गर्ने प्रयास गर्छ, तब संविधानले नै नागरिकको रक्षा गर्छ।”
चुनाव आयोग र सरकारमाथि प्रश्न
पवन खेड़ाले भाजपा नेतृत्वको केन्द्र र केही राज्य सरकारहरूलाई ‘दमनकारी’ को संज्ञा दिँदै आगामी निर्वाचनमा जनताले निर्णायक फैसला सुनाउने दाबी गरे। “हामीले (राहुल गान्धी, मल्लिकार्जुन खर्गे र प्रियंका गान्धी) पटक-पटक निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएका छौँ, तर आयोगले कहिल्यै जवाफ दिने कष्ट गर्दैन,” उनले आक्रोश पोखे।
असम सरकारले आफूलाई नियोजित रूपमा फसाउन खोजेको तर न्यायपालिकाले सत्यको रक्षा गरेको उनको भनाइ थियो। उनले लोकतन्त्र जोगाउन र दमनकारी नीतिविरुद्ध कांग्रेसले निरन्तर लडाइँ जारी राख्ने समेत बताए।









