नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) ले असम विधानसभा चुनावका लागि ८८ उम्मेदवारको पहिलो सूची बिहीबार सार्वजनिक गरेको छ। सूचीमा मुख्यमन्त्री हिमन्त विश्व शर्मा पनि समावेश छन्, जसले जलुकबारी सीटबाट चुनाव लड्नेछन्।
पार्टीले कांग्रेसका पूर्व नेता प्रद्युत बोरदोलोईलाई दिसपुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनाएको छ। उनी बुधबार मुख्यमन्त्री शर्मा तथा अन्य नेताहरूको उपस्थितिमा भाजपा प्रवेश गरेका थिए।
सूचीअनुसार हालै कांग्रेस छोडेर भाजपा प्रवेश गरेका भूपेन कुमार बोरा बिहपुरिया सीटबाट चुनाव लड्नेछन्। यस्तै बिरसिंह–जरुआ सीटबाट माधवी दास, चमरिया सीटबाट ज्योत्सना कलिता र मंगलदाई सीटबाट नीलिमा देवीलाई उम्मेदवार बनाइएको छ।
भाजपाको केन्द्रीय चुनाव समितिले बुधबार साँझ बसेको बैठकमा उम्मेदवारहरूको पहिलो सूचीलाई अन्तिम रूप दिएको हो। बैठकको अध्यक्षता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले गरेका थिए। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह तथा अन्य वरिष्ठ नेताहरू उपस्थित थिए। साथै भाजपा असम इकाईका प्रमुख दिलीप सैकिया पनि बैठकमा सहभागी थिए।










