गान्ताेक: सिक्किम राज्य सहकारी सङ्घ (एसआईसीयूएन), असम लिन्जेको परिसरमा आज का दिन ‘नशामुक्त भारत अभियान’ (एनएमबीए) को औपचारिक सुरुवात गरिएको छ। सिकुनका अध्यक्ष डा. मङ्गल जित राईको अध्यक्षतामा सम्पन्न यस गरिमामय कार्यक्रममा सहकारिता विभागका संयुक्त रजिस्ट्रार एवं नशामुक्त भारत अभियानका नोडल अधिकारी इन्द्रमणि अधिकारी, सिकुनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र एनसीडीसी क्षेत्रीय कार्यालयका सहायक निर्देशक वैभव कुमार लगायत सिकुनका बोर्ड सदस्यहरू, अधिकारीहरू तथा कर्मचारी वर्गको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा आमन्त्रित पाहुनाहरूलाई स्वागत गर्दै सिकुनका कार्यकारी अधिकारी शैलेश राईले एउटा लागुपदार्थमुक्त र स्वस्थ समाजको निर्माण गर्नका लागि सबैको सामूहिक प्रयास अत्यन्तै आवश्यक रहेको कुरामा जोड दिए।
कार्यक्रममा सिकुनकी नशामुक्त भारत अभियान नोडल अधिकारी सुश्री थिन्ले पेमु भोटियाले यस अभियानको मुख्य उद्देश्यहरूमाथि प्रकाश पार्दै समाजमा सचेतना फैलाउनु, रोकथाम गर्नु, उचित परामर्श दिनु र पुनर्स्थापना (रिहाबिलिटेसन) गर्नु नै यसको मूल लक्ष्य रहेको कुरा स्पष्ट पारिन्। यसै क्रममा सहकारिता विभागका नोडल अधिकारी इन्द्रमणि अधिकारीले नोडल अधिकारीहरूको भूमिका र जिम्मेवारीबारे विस्तृत जानकारी दिँदै समयमै लागुऔषध दुर्व्यसनीहरूको पहिचान गरी उनीहरूलाई सही मार्गमा ल्याउनु पर्ने कुरा बताए। साथै, उनले वर्तमान समयमा युवा पिँढीमा बढ्दै गइरहेको मोबाइल फोनको लत (एडिक्सन) प्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। कार्यक्रमको विशेष अवसरमा अध्यक्ष डा. मङ्गल जित राईले उपस्थित सबैलाई नशामुक्त भारत अभियानको शपथ गराएका थिए, जहाँ सबैले लागुपदार्थमुक्त समाज निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्याए। कार्यक्रमको समापन कार्यकारी अधिकारी शैलेश राईको धन्यवाद ज्ञापनसँगै भएको थियो, जसले सिक्किमलाई स्वस्थ र नशामुक्त बनाउने सिकुनको सङ्कल्पलाई अझ दृढ बनाएको छ।











