गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाकाे एउटा अन्तर्वार्ताले भारत र बांग्लादेशबीचको सम्बन्धमा ठूलो दरार पैदा गरिदिएको छ। मुख्यमन्त्री सरमाले आफू सधैं भगवानसँग भारत र बांग्लादेशको सम्बन्ध धेरै राम्रो नहोस् भनेर प्रार्थना गर्ने गरेको बताएपछि ढाकास्थित तारिक रहमान सरकार निकै आक्रोशित बनेको छ। उहाँको तर्क अनुसार दुई देशबीचको सम्बन्ध धेरै सुमधुर हुँदा अवैध घुसपैठियाहरूलाई फिर्ता पठाउन कठिनाइ हुने र कूटनीतिक कारणले सरकारले पनि कडा कदम चाल्न नचाहने भएकाले सम्बन्ध खराब हुनु नै असमको सुरक्षाका लागि फाइदाजनक रहेको छ।
यस विषयमा थप स्पष्ट पार्दै मुख्यमन्त्रीले भारतीय सीमा सुरक्षा बलले रातिको अँध्यारोमा जहाँ बांग्लादेशी सीमा सुरक्षा बलको उपस्थिति हुँदैन, त्यस्ता ठाउँबाट घुसपैठियाहरूलाई ‘धक्का दिएर’ (पुश ब्याक) सीमा पार गराउने गरेको खुलासा गर्नुभयो। उहाँले गत वर्ष ५० जना र यस वर्ष मात्रै अहिलेसम्म १४०० जनालाई यसरी नै फिर्ता पठाइएको दाबी समेत गर्नुभएको छ। मुख्यमन्त्रीको यो बयान सार्वजनिक भएलगत्तै बांग्लादेशको विदेश मन्त्रालयले ढाकामा रहेका भारतका कार्यवाहक उच्चायुक्तलाई बोलाएर आफ्नो कडा विरोध र असन्तुष्टि व्यक्त गरेको छ।
बांग्लादेशले यस बयानलाई अपमानजनक र छिमेकी मुलुकको सार्वभौमिकता विरुद्ध भएको ठहर गरेको छ। साथै, मुख्यमन्त्रीले १५ वर्षअघि नै नाम परिवर्तन भइसकेको ‘बीडीआर’ शब्द प्रयोग गरेको र दुई देशबीचको विद्यमान प्रत्यर्पण सन्धिबारे गलत जानकारी दिएको भन्दै त्यहाँका सञ्चारमाध्यमहरूले उहाँको आलोचना गरेका छन्। मुख्यमन्त्रीले भने सर्वोच्च अदालतको आदेश र एनआरसीको प्रक्रियालाई आधार मान्दै असममा संदिग्ध नागरिकहरूको पहिचान र निष्कासन प्रक्रियालाई अझ तीव्रता दिने अडान व्यक्त गर्नुभएको छ।









