गुवाहाटी: कांग्रेस नेता पवन खेड़ालाई गुवाहाटी उच्च अदालतले अग्रिम जमानत दिन अस्वीकार गरेको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माकी पत्नी रिनिकी भुइयाँ शर्मामाथि लगाइएको आरोपका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले खेड़ाको निवेदन खारेज गरिदिएको हो।
न्यायमूर्ति पार्थिव ज्योति सैकियाको एकल इजलासले राजनीतिक लाभका लागि एक ‘निर्दोष महिला’ लाई विवादमा तानेको टिप्पणी गरेको छ। अदालतले यो केवल मानहानि (Defamation) को विषय मात्र नभई ‘अपराधिक षड्यन्त्र’ समेत हुन सक्ने भन्दै हिरासतमा लिएर सोधपुछ गर्न आवश्यक रहेको ठहर गरेको छ। मुख्यमन्त्रीकी पत्नीका नाममा तीन देशका राहदानी (पासपोर्ट) रहेको भन्ने दाबी खेड़ाले प्रमाणसहित पुष्टि गर्न नसकेको समेत अदालतको आदेशमा उल्लेख छ।
यसअघि तेलङ्गाना उच्च अदालतले खेड़ालाई दिएको ‘ट्रान्जिट बेल’ लाई सर्वोच्च अदालतले रोक्का गरिदिएको थियो। भारतीय जनता पार्टी (भाजपा) ले अदालतको यस कदमको स्वागत गर्दै खेड़ाले जाली कागजातका आधारमा झुटा आरोप लगाएकाले अब कानुनी परिणाम भोग्नुपर्ने बताएको छ। मुख्यमन्त्री शर्माले भने निर्वाचन परिणाम (मे ४) पछि मात्रै यस विषयमा थप समीक्षा गर्ने बताउनुभएको छ।










