गुवाहाटी: असममा जारी बाढीले ३८ जनाको ज्यान लिएको छ, पछिल्लो २४ घण्टामा थप तीन जनाको डुबेर मृत्यु भएको छ। असम राज्य आपदा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो पीडितहरूमा तिनसुकिया जिल्लाका दुई र धेमाजी जिल्लाका एक व्यक्ति समावेश छन्। बाढीका कारण २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा लखिमपुर, दाराङ र गोलाघाट समावेश छन्, जहाँ हजारौं मानिसहरू विस्थापित भएका छन्। लखिमपुरमा मात्रै १ लाख ६५ हजार ३१९, दारङमा १ लाख ४७ हजार १४३ र गोलाघाटमा १ लाख ६ हजार ४८० जना प्रभावित छन्। मुख्यमन्त्री हिमन्त विश्व शर्मा बाढीले ४२,४७६ हेक्टर बाली क्षेत्र डुबान गरेको छ र ८४ राजस्व सर्कल अन्तर्गत २,२०८ गाउँहरू प्रभावित छन्। ब्रह्मपुत्र, सुबनसिरी, बुर्हिछडिहिङ, दिखाउ, दिसाङ, धनसिरी (स), जिया-भराली, पुथिमरी, कोपिली, बेकी, कुशियारा, बराक, धलेश्वछरीलगायतका ठूला नदीहरु विभिन्न स्थानमा खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। राहत कार्य जारी छ, प्रशासनले ४८९ राहत शिविर र वितरण केन्द्र स्थापना गरेको छ। यी शिविरहरूमा करिब २.८७ लाख मानिस आश्रय लिइरहेका छन्। यस बाहेक धेरै बाढी पीडितले अग्लो जग्गा, विद्यालय भवन, सडक र पुलमा आश्रय लिइरहेका छन्।










