सिलगढी: पहाडी तथा तराई क्षेत्रमा शान्ति, सुरक्षा र जनस्वास्थ्य कायम राख्ने उद्देश्यका साथ सिलगढी पुलिस कमिश्नरेटले अवैध मदिरा विरुद्ध आफ्नो कडा कदम निरन्तर जारी राखेको छ। यसै क्रममा सिलगढी महिला थाना, विनर्स टोली, ०२ वटा पिङ्क आरटी मोबाइल भ्यान तथा प्रधाननगर थानाको संयुक्त टोलीले मोहोरगाउँ गुल्मा चिया बगान क्षेत्रमा एक विशेष छापामारी अभियान सञ्चालन गरेको छ।
उक्त कारबाहीका क्रममा चिया बगान क्षेत्रभित्र अवैध रूपमा तयार पारिँदै गरेको कच्चा देशी रक्सी (चुलु) र सो बनाउन प्रयोग गरिने विभिन्न सामग्रीहरू फेला परेका थिए। पुलिस टोलीले भेटिएका सम्पूर्ण अवैध रक्सी तथा कच्चा पदार्थहरूलाई घटनास्थलमै नष्ट गरिदिएको छ।
सिलगढी पुलिस कमिश्नरेटले क्षेत्रमा हुने सबै किसिमका गैरकानुनी गतिविधिहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न र आम नागरिकको सुरक्षा सुनिस्चित गर्न पुलिस टोली सधैँ तत्पर रहेको र यस्ता अभियानहरू निरन्तर चलिरहने जनाएको छ।





