सिलगढी: सिलगढी प्रहरी कमिस्नरेट अन्तर्गतको माटीगढा र बागडोग्रा थानाको संयुक्त प्रहरी टोलीले अन्तःशूल्क (आबकारी) विभागसँगको समन्वयमा अवैध मदिरा उत्पादन र ओसारपसार नियन्त्रणका लागि व्यापक खोजतलास (छापामारी) अभियान चलाएको छ। २० जुन, २०२६ का दिन तारबाडी, खपडैल मोड, सिसाबारी लगायतका विभिन्न स्थानहरूमा यो कारबाही गरिएको हो।
प्रहरीका अनुसार छापामारीका क्रममा अवैध मदिरा उत्पादन तथा डिस्टिलेसन (चोलाइ) मा प्रयोग गरिने ठुलो परिमाणमा कच्चा पदार्थ र उपकरणहरू बरामद गरी घटनास्थलमै नष्ट गरिएको छ। बरामद गरिएका सामग्रीहरूको कुल अनुमानित मूल्य १०,६६,०००/- (१० लाख ६६ हजार) रुपैयाँ रहेको सिलगढी पुलिसले जनाएको छ।
अवैध घरेलु मदिराले जनस्वास्थ्य र जनसुरक्षामा गम्भीर खतरा पुर्याउनुका साथै विभिन्न आपराधिक गतिविधिहरू बढाउने भएकाले समुदायको रक्षा र शान्ति सुव्यवस्था कायम राख्न यो कदम चालिएको पुलिसको भनाइ छ। सिलिगुडी पुलिसले अवैध मदिराको कारोबारविरुद्ध आगामी दिनमा पनि यस्तै कडा कानुनी कारबाही जारी राख्ने र नागरिकका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।









