नयाँ दिल्ली: भारतको केन्द्रीय सडक, परिवहन तथा राजमार्ग मन्त्रालयले अवरोधरहित (मल्टी–लेन फ्री फ्लो, एमएलएफएफ) टोल प्लाजामा जानीजानी टोल छली गर्ने सवारीधनीमाथि तोकिएको शुल्कको पाँच गुणा जरिवाना लगाउने निर्णय गरेको छ। सवारीको नम्बर प्लेट छोपछाप पार्ने, फास्ट्याग नराख्ने वा त्यसमा तोडफोड तथा छेडछाड गर्नेलाई अब मूल टोल र त्यसको पाँच गुणा रकम जरिवानाबापत असुल गरिनेछ।
उदाहरणका लागि १०० भारु टोल लाग्ने स्थानमा छली गरेको ठहरिए १०० भारु मूल शुल्क र ५०० भारु जरिवाना गरी कुल ६०० भारु तिर्नुपर्नेछ। जरिवाना नतिरे सवारीसाधन जफत गर्नेसम्मका कानुनी कारबाही अघि बढाइनेछ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) अन्तर्गतका अवरोधरहित राजमार्गमा लागू हुने यो व्यवस्थाका लागि नियम संशोधन भइसकेको र छिट्टै औपचारिक अधिसूचना जारी गरिने मन्त्रालयले जनाएको छ।
एमएलएफएफ प्रणालीमा टोल प्लाजाका भौतिक अवरोध हटाइन्छन् र सडकमाथि जडान गरिएका ‘ओभरहेड ग्यान्ट्री’ का क्यामेराले सवारी नरोकीकनै नम्बर प्लेट तथा फास्ट्याग पहिचान गरी शुल्क कट्टा गर्छन्। यसबाट जाम घट्ने र इन्धन जोगिने अपेक्षा गरिएको छ। यद्यपि, टोल छल्ने मनसायले नै नम्बर प्लेट लुकाएको वा फास्ट्याग निष्क्रिय पारेको प्रमाणित भए मात्र पाँच गुणा जरिवाना लागू हुने सर्त राखिएको छ।





