बर्मिंघम: भारतका स्टार ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेन अल ईंग्ल्याण्ड ब्याडमिण्टन च्याम्पियनशीपमा फेरि एकपल्ट उपविजेता रहे। सेमिफाइनलमा आत्मविश्वासको साथ जीत हासिल गर्ने लक्ष्यले पुरुष एकलको फाइनलमा फर्मलाई कायम राख्न सकेनन् अनि आइतवार खेलिएको फाइनलमा चाइनीज ताइपेका लिन चुन-यीविरुद्ध सीधा गेममा १५-२१, २०-२२-ले पराजित भए। यस हारको साथै लक्ष्यले फेरि एकपल्ट खिताब जित्ने मौका गुमाए। लक्ष्य यसअघि २०२२-को संस्करणमा पनि उपविजेता रहेका थिए। फाइनलको पहिलो गेममा लक्ष्यलाई लिनले अधिक मौका दिएनन्। त्यसपछि दोस्रो गेममा चाहिँ लक्ष्यले प्रतिद्वन्द्वीलाई कड़ा चुनौती दिए। यसरी दोस्रो गेम चरम रोमाञ्चक बन्यो तर विश्वका एघाह्रौं नम्बरका खेलाड़ी लिनले निर्णायक क्षणहरूमा संयमको साथ खेल्दै म्याच र खिताब जिते। यसअघि लक्ष्यलाई इण्डिया ओपनको क्वार्टर फाइनलमा पनि लिनले पराजित गरेका थिए।









