जलपाइगढी: एक बिहानै आवासीय क्षेत्रमा अर्ना भैँसी पसेको घटनाले त्यस क्षेत्रमा आतङ्क फैलिएको छ। जलपाइगढी जिल्लाको नाथुआ रेन्ज अन्तर्गतको माझियाली बस्ती क्षेत्रमा अर्ना भैँसी पसेको खबर पाउनसाथ नाथुआ रेन्जका वन कर्मचारी र बिन्नागढी वाइल्ड लाइफका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए।
श्रोतका अनुसार, अर्ना भैँसी बुधवार बिहान गोरुमारा जङ्गलबाट निस्केर पहिले गढीरकुटी गाउँ र त्यसपछि माझियाली बस्ती क्षेत्रमा रहेको एक व्यक्तिको घरको गोठमा पुगेको थियो। स्थानीयवासीहरूको भनाई अनुसार घरबाट साइकलमा काम गर्न जाँदै गरेका एक व्यक्तिलाई त्यो अर्ना भैँसीले घाइते बनाएको छ। वन विभागका कर्मचारीहरूले तत्कालै घाइतेलाई उद्धार गरी प्राथमिक उपचारका लागि अस्पताल पुऱ्याए। घाइतेको नाम नानी राय (३०) रहेको बताइएको छ।
अर्ना भैँसीलाई हेर्न ठूलो सङ्ख्यामा मानिसहरूको भीड लागेको थियो। वन अधिकारीहरू पनि अर्ना भैँसीलाई जङ्गलमा फिर्ता गर्न प्रयासरत छन्। सम्पूर्ण इलाकालाई घेराबन्दी गरिएको छ र कुनै अप्रिय घटना नहोस् भनेर वन अधिकारीहरू सजग छन्।








