अर्थतन्त्र खस्कीदा नेपालको आयातनिर्यात दुवै घट्यो

Truck-copy

झापा (नेपाल): चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म) मा नेपालको आयातनिर्यात दुवै खस्किएको छ। मुलुकमा आर्थिक क्रियाकलाप सुस्त हुँदा त्यसको असर आयात निर्यात दुवैमा परेको देखिएको  छ। भन्सार विभागको तथ्यांकअनुसार, समीक्षा अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६६ प्रतिशतले घटेको छ। विभागका अनुसार, चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा गरेको १२ खर्ब एक अर्ब ५० करोडको तुलनामा २.८४ प्रतिशतले कमी हो। चालु आवको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको वस्तु निर्यात गरेको छ। यो गत आर्थिक वर्षको सो महिनासम्मको तुलनामा भने ३.६६ प्रतिशतले कम हो। गत चैतसम्म नेपालले एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपियाँको वस्तु निर्यात गरेको थियो। समीक्षा अवधिमा कुल अन्तर्राष्ट्रिय व्यापार पनि अघिल्लो वर्ष १३ खर्ब १९ अर्ब ७८ करोडको तुलनामा २.९२ प्रतिशतको गिरावटसहित १२ खर्ब ८१ अर्ब ३१ करोडमा आइपुगेको हो। समीक्षा अवधिमा आयातमा कमी आउँदा मुलुकको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ। चालु आवको नौ महिनामा व्यापार घाटा घटेर १० खर्ब ५३ अर्ब ४२ करोडमा झरेको छ। अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रहेको थियो।

About Author

Advertisement