पीडित परिवारलाई ढाडस, उद्धार कार्य तीव्र पारिने
ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले केन्द्रीय मन्त्रीहरू शिवराज सिंह चौहान र किरण रिजिजुसँगै पोसास्थित नॉर्थ ईस्टर्न इलेक्ट्रिक पावर कॉर्पोरेशन लिमिटेड(नीपको) कोलोनीको बाढी प्रभावित क्षेत्र तथा त्यहाँ स्थापित राहत शिविरको स्थलगत निरीक्षण गरेका छन्। मुख्यमन्त्री खाण्डुको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार प्राकृतिक विपद्का कारण ठुलो क्षति बेहोरेको यस क्षेत्रमा तीनै जना नेताहरूले स्थलगत रूपमा बुझेर राहत तथा उद्धार कार्यको समीक्षा गरेका हुन्। बाढी र पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्रीले यस शोकको घडीमा राज्य र केन्द्र सरकार पीडित परिवारको साथमा रहेको बताए।
निरीक्षणका क्रममा नेताहरूले अझै पनि वेपत्ता रहेका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन र राहत शिविरमा रहेका परिवारहरूका लागि खाद्यान्न, स्वास्थ्य उपचार तथा अन्य आवश्यक सामग्रीको तुरुन्त प्रबन्ध मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री खाण्डुले विपद्को यस कठिन समयमा आफ्ना प्रियजन गुमाएका र बेपत्ताहरूको खबर पर्खिरहेका परिवारहरूको पीडामा आफूहरू पूर्ण रूपमा मर्माहत भएको उल्लेख गर्दै हरेक प्रभावित परिवारलाई पुनस्र्थापना र आर्थिक सहयोग उपलब्ध गराउन सरकार दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गरे।











