अमेरिकाद्वारा १४ करोड डलर बराबरका ६५७ प्राचीन कलाकृति भारतलाई हस्तान्तरण

photocollage_2026430184131439

न्युयोर्क: अमेरिकाले विभिन्न समयमा भारतबाट चोरी गरी तस्करी गरिएका ६५७ थान बहुमूल्य प्राचीन कलाकृति र पुरावशेषहरू भारतलाई फिर्ता गरेको छ। न्युयोर्कस्थित म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार आयोजना गरेको एक विशेष समारोहबीच करिब १ करोड ४० लाख अमेरिकी डलर मूल्य बराबरका ती पुरातात्विक सामग्रीहरू भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको हो।
​म्यानहट्टनका जिल्ला न्यायधिवक्ता एल्विन ब्र्यागले भारतीय वाणिज्य दूतावासकी प्रतिनिधि राजलक्ष्मी कदमको उपस्थितिमा ती सामग्री हस्तान्तरण गर्दै भारतको सांस्कृतिक सम्पदा संरक्षणमा यो ठूलो उपलब्धि भएको बताउनुभयो। यी पुरावशेषहरू कुख्यात कला तस्कर सुभाष कपुर र दोषी ठहरिएकी तस्कर न्यान्सी विनरसँग सम्बन्धित अन्तर्राष्ट्रिय तस्करी गिरोहमाथि गरिएको लामो अनुसन्धानका क्रममा बरामद गरिएको हो। न्यायधिवक्ता ब्र्यागले भारतको सांस्कृतिक गौरवमाथि प्रहार गर्ने यस्ता गिरोहहरूको सञ्जाल निकै ठूलो रहेको उल्लेख गर्दै बाँकी रहेका अन्य चोरीका कलाकृति फिर्ता गराउन अझै काम गर्न बाँकी रहेको प्रतिबद्धता जनाउनुभयो।
​फिर्ता गरिएका सामग्रीहरूमध्ये छत्तीसगढको रायपुरस्थित सीपुर क्षेत्रको ‘अवलोकितेश्वर’ को कास्य प्रतिमा सबैभन्दा महत्वपूर्ण मानिएको छ, जसको बजार मूल्य करिब २० लाख डलर छ। सन् १९३९ मा फेला परेको उक्त प्रतिमा १९५२ सम्म रायपुरको संग्रहालयमा सुरक्षित थियो, जहाँबाट पछि तस्करी गरी अमेरिका पुर्‍याइएको थियो। यस्तै, सन् २००० मा मध्य प्रदेशको एक मन्दिरबाट लुटिएको नृत्य मुद्राको ‘गणेश’ को मूर्ति र उत्तर भारतबाट तस्करी गरिएको रातो बलौटे ढुंगाको ‘बुद्ध’ को प्रतिमा पनि फिर्ता गरिएको छ। अभय मुद्रामा रहेका बुद्धको उक्त प्रतिमाको मूल्य मात्रै करिब ७५ लाख डलर रहेको बताइएको छ। न्युयोर्कका लागि भारतीय महावाणिज्य दूत विनय प्रधानले अमेरिकी गृह सुरक्षा मन्त्रालय र सुरक्षा निकायहरूको निरन्तरको सक्रियताका कारण भारतको अमूल्य सांस्कृतिक निधि घर फर्कन सफल भएको भन्दै आभार व्यक्त गर्नुभयो।

About Author

Advertisement