अमर न्यौपानेको शब्दमा फिल्म ‘रियाल रिंगेट’ को गीत ‘आमा’ सार्वजनिक

IMG-20250727-WA0100

भद्रपुर: आउँदो शुक्रबार देखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिंगेट’ को नयाँ गीत ‘आमा’ युट्युबमा सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मीक ढंगले प्रस्तुत गरिएको छ।
मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा गायक रामचन्द्र काफ्लेको स्वर र संगीत छ। एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले गरेका छन्।
गीतले विशेष गरी रोजगारीको सिलसिलामा विदेशिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू र त्यसपछिको घर–परिवारको सम्झनालाई उजागर गरेको छ। गीतमार्फत फिल्मको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ।
‘रियाल रिंगेट’ नाम स्वयं नै प्रतीकात्मक छ। ‘रियाल’ खाडी मुलुक कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिंगेट’ मलेसियाको। यी दुई मुद्राको नाम संयोजनले ती मुलुकहरूलाई इंकित गर्छ, जहाँ लाखौँ नेपालीहरू श्रम गर्न बाध्य छन्।
विभोर पोखरेलको निर्देशनमा बनेको यो फिल्ममा प्रमोद चौलागाईं र नीता ढुंगाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायत कलाकारहरूको अभिनय छ।
गगनलाल प्रधान निर्माता रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।

About Author

Advertisement