दार्जीलिङ शहरदेखि लगभग चालिस पचास कि.मि दुरत्वमा अवस्थित कैँजेली, लामा गाउँ, रेलिङ, अप्पर रेलिङ, शेर्पा गाउँ,लङ्गुरदाङ, सामसु आदि। यी जग्गाहरू दार्जीलिङ जिल्लाको उत्तर-पश्चिम भागमा पर्दछ, जसले नेपाल अनि सिक्किमका सीमानालाई पनि छोएको छ। यी भूभागहरू अंग्रेजले सन् १८५० मा आफ्ना अधीनमा पारेको इतिहास छ। यी भूभाग लगभग ११५ वर्गमाइल जति पर्दछ। कालान्तरमा अङ्ग्रेजले छेबु लामा भन्ने व्यक्तिलाईयी भूभागहरू लिजमा दिएका कुरा उल्लेख पाइन्छ। उनको देहान्तपछि यी भूभागहरू उनका छोरा रिचुक देवान, भाइ फुर्वा देवान अनि भनिज राजा टेन्डुक पाल्जरमाझ भाग लगाइएको थिएछ। यसमा सबैभन्दा बेसी ३१ वर्गमाइल जति भूभागलाईचाहिँ रेलिङ स्टेट भनिएको पाइन्छ। जो रिचुक देवानका छोरी अनि उनको देहान्तपछि उनका विदवा पत्नीका अधीनमा रहेको देखिन्छ तर पछि आर्थिक चपेटका कारण अदालती मुद्दामा परेको इतिहास उल्लेख पनि रहेछ। यी कुराहरू ओ मालेको बेंगल डिस्ट्रिक गजेटरसः दार्जीलिङ, ई सी डोजीको कन्साइन हिस्ट्री अव् दार्जीलिङ डिस्ट्रिक, पुस्तकहरूमा भेटिएलान्।
यी नै ऐतिहासिक क्षेत्रअन्तर्गत पर्ने विभिन्न गाउँ रूप-रङ्ग समयअनुसार बद्लिँदै गइरहेको देखिन्छ। यद्यपि गाउँको हृदय आज पनि फराकिला र फाँटिला छन्। गाउँमा पानी मागे मनसितै मनतातो पानी यसरी विशेषण पनि जोडेर दिने चलन गएको छैन्। तर शहरमा भने पैसा साटे मात्रै पानी पाइन्छ। यही हो गाउँ र शहरको फरक। गाउँका सागर भाइले घोन्द्रोमा मकै भुटेर गिलासभरि बाक्लो दहीसित दिएकै छ। किन हो गाउँ आज पनि शहर जस्तो चिच्चा र खिच्चा भने छैन। मुला, मकै, इस्कुस, अलैँची, अम्लिसो फलाएर, गाई बस्तु पालेर जीविका उपार्जन गर्ने यी किसान परिवार साह्रै सुखी थिए एक समय। बारीमा उब्जनी हुँदा नहुँदा पनि सुखी थिए। पानी पर्दा नपर्दा पनि आनन्द नै थियोगाउँलाई। बजार पसेकोदेखि गाउँ साह्रै दु:खी छ। बाजे बराजुको गाउँमा तराजु पसेदेखि गाउँ दुखेको छ अचेल। त्यति धेरै रोपनीमा वन्य पशुले उधिनिदिँदा नदुख्ने गाउँले बारीका कान्लामा करेन्ट लगाइ राख्नपर्ने, गाउँलाई किन यसरी भत्भती पोलेको होला निआज। गाउँमा पसेको बजार, बजारले पठाएको होमस्टे र होमस्टेले मचाएको उत्पात गाउँले दिक्क मानेर सहिरहेको छ।
गाउँ बजार त्यसै पसेन, पहिले बाटो पस्यो त्यसपछि पस्यो बजार। तर निमुखा र लाटो गाउँको बाटो कस्तो पो हुन्थ्यो। हिँदै गर्दा बाटैमा एकजना भाइले सोधे ‘रेलिङ जाने दाजु’? मैले उत्तर दिँए ‘त्यतै तिर जाँदैछु’ ‘खाएर जानु हुँदैछ छ कि भोको पेट’ उसले फेरि सोधे, अनि खुलाएर भने ‘बान्ता गर्नुहोला, बाटो यस्तै छ, त्यही बाटो हेरेर बुझ्नु होला दार्जीलिङको राजनीति।’ मैले बाटो देखेँ तर राजनीति भने पट्टकै बुझिन। कवि केवलको एउटा कविताको पङ्क्ति जस्तै-
राज्यको वानप्रस्थपश्चातको
सिँहासनबिहिन राजाको बृद्धताझैं
गाउँ पस्ने बाटो थाकेको थियो।
यौटा क्रूर राक्षसले राजकुमारी
अपहरण गरेपश्चात्को
राज्यजस्तै नै मेरी गाउँ भएथ्यो।
यसरी गाउँको रूपरेखा बद्लिँदै गइरहेछ आजभोलि सुस्तरी सुस्तरी कसैलाई थाहै नदिई।
शेर्पा गाउँ प्राथमिक पाठशाला र मेहरुनिसा गुरुमा
अप्पर रेलिङ शेर्पा गाउँ र गाउँमा स्थापित प्राथमिक पाठशाला, एकमात्र सरकारी शिक्षाका केन्द्र। शेर्पाहरू अधिक सङ्ख्यामा रहेकाले गाउँको नाउँ नै शेर्पा भनिएको रहेछ। आज पनि साठ सत्तरीभन्दा बढी घरहरू शेर्पाहरू, केही छेत्री, एकाध तामाङ र गुरुङ रहेछन्। अप्पर रेलिङको पुरानो गाउँ स्थानीयहरूले भोटे गाउँ पनि भन्दा रहेछन्। तर आधिकारिक रूपमा शेर्पा गाउँ र हाल अप्पर रेलिङ भन्ने गरेका रहेछन्। प्राय: शेर्पा कुरा बोल्ने त्यस ठाउँमा नेपाली पाठशालामा आलुलाई ‘रिकी’, मकैलाई ‘लिची’, कुकुरलाई ‘वि’, माछालाई ‘ङेया’, भातलाई ‘डा’, जङ्गललाई ‘नाबुङ’, हिमाललाई ‘काअ’, कान ‘नम्जोक’, आँखलाई ‘मिक’ भन्ने शेर्पाहरूलाई नेपाली सिकाउनेशिक्षिकाचाहिँ मेरुनिशा गुरुमाथिइन् रे। गाउँमा चिर परिचित मेरुनिशा उर्फ मिसा गुरुमा त्यति तल तल्लो रेलिङबाटअप्पर रेलिङ घण्टा एकहिँडेर आउँथिन् रे, जहाँ आज जस्तो गाडी घोडाको सुबिधा कसरी पो पाउँथे होलान्। यद्यपि आज पनि बाटा घाटाको सुकिलो अनुहार देख्न अझै कति वर्ष पर्खनु पो पर्ला कि। सन् १९७३ मा सरकारी मान्यता पाएको शेर्पा गाउँको प्राथमिक पाठशालाको अनुहार आजको जस्तो थिएनछ। १९७० सालतिरै भर्खर स्कूल फाइनल पास गरेकी मिसा गुरुमाका चेतमा गाउँका छोर्-छोरीहरू पनि कखरा पढून्, साउँ अक्षर ता लेखून् भन्ने भाव कसरी जागे होलान्। त्यसपछि गाउँघरसित मिलेर चन्दा उठाइकन चित्राले छाएको, बाकलले बारेको एउटा कोठामा रात्रि पाठशाला तयार पारेछिन्। यसरी चित्राको प्वाँलहरूबाट टह टह जूनको उज्यालो र शिक्षाको ज्योति संगै देख्न पाएछन् शेर्पा गाउँका छोर् छोरीले। गुरुबा, गुरुमा लालटिन बोकेर शिक्षाको ज्योति छर्न रातो माटो चिल्पोबाट लड्दै बढ्दै आउने गरेका त्यहाँ बुढा-पाकाले देखेका हुनाले इतिहास बुढा-पाका आँखासम्म मात्र टाँसियो। अक्षरहरूमा इतिहास टाँसेको छ छैन थाहा नभए पनि धन्न क्यामेराको अविष्कारभइदिनाले एकाध फोटाहरूमा इतिहास छापिएछन् नत्र‘बुढा मरै भाषा सरै’ भने झैं यति चाखिलो इतिहास तुहेर जानेथियो त्यसै।
६ महिना जति रात्रि पाठशालाका रूपमा चलेपछि अब दिह्वा पाठशाला नै बनाउनु पर्ने आवश्यकताले मिसा गुरुमा लागी परेछिन्। बुवा तैयब हुसैन अनि आमा ललितादेवी राईको हुटहुटी र हौसाला पाएकी छोरीले स्वयंसेवी शिक्षिकाको रूपमा पढाएछिन्। पछि यस स्कूलले मान्याता पाउनु पर्ने आवश्यकता देखिएपछि गाउँका मान्यजन मिलेर पत्रचार गरेछन्। गाउँका सहोदरहरू पेम्बा शेर्पा, पेन्टु शेर्पा, पासङ शेर्पा, डुपछिरिङ शेर्पा, लाक्पा शेर्पा, निमा तेञ्जी शेर्पा, तुलसीराम छेत्री,भक्तबहादुर तामाङ, दिल्लीराम छेत्री आदि स्कूल तयार पार्न दिलो ज्यान नै दिएछन्। पेन्टु शेर्पाज्यूले घरबाट सबैलाई चिया खाजा दिइकन कति हो कति सहायता पुर्या्एछन्। यस्ता मसिना तर महत्त्वपूर्ण इतिहासका कुरा गर्भभित्रै तुहेर नजाऊन्। एउटा गाउँको इतिहास, एउटा बाजेका इतिहास, बाबुका इतिहास श्यामपट मेटिए जस्तै मेटिनाले आज यो दशा भएका आँकलन गर्न सकिन्छ। यतिका कठीन परिश्रमपछि पाएको पहिलो फलचाहिँ १९७३ सालमा स्कूलले पाएको सरकारी मान्यता।
मेहरुनिसा गुरुमा स्कूलले यसरी सरकारी मान्यता पाएपछि शेर्पा गाउँ प्राथमिक पाठशालाकी प्रथम प्रभारी बनेछिन्। प्रभारी बनेपछि गाउँका मान्य पनि भएछिन्। वर्षेनी दोमाङ पढाउने शेर्पा गाउँमा शिक्षक शिक्षिकालाई आमन्त्रण गर्थेछन्। अघिल्लो वर्ष नोभेम्बर १९७४ देखि महेन्द्र शर्मा सरले पनि नियुक्ति पाएपछि स्कूलका सर्वाङ्गीन विकासका निम्ति ठूलो सहयता पुर्याएछन्। शर्मा सर कट्टर सनातनी ब्राह्मण संस्कारमा हुर्केका बाहुनको छोरो, जाँड-रक्सीदेखि सातकोश पर पर्ने गुरुबाले शेर्पा गाउँका छोर्-छोरीलाई जाँड रक्सी, तास जुवाबाट पर सर्ने सल्लाह दिँदै पढाएछन्। शेर्पा गाउँ काँचो कचिला, रसिला बनिलाहरूलाई गाउँका भुरा भुरीलाई घरैबाट यी दुई शिक्षकहरूले खोज्दै ल्याएछन्। मिसा गुरुमा र महेन्द्र सर भनेपछि टाँडमुन्तिर लुक्ने भुराभुरीलाई कहिल्यै मैत्रीका मोहनीले तानेर ल्याएछन्। आमा बाबुका उत्साह पनि उत्तिकै, “गुरुमाछोरछोरीका छाला फुटे ता केही हुन्न हड्डी चाहिँ नभाँचोस्,” भन्थेछन्। अनुशा सर प्रिय गुरुमाले कहिलेकहिँकुम्हालेले माटाका भाँडा बनाउन पिटेझैँ गरेछन् तर तलबाट असीम करुणाका हातहरूले थामेछन् पनि। तब ता पासाङफूरी रेयुकाइ जस्ता संस्थातिर लागेर अन्तर आत्मका विकास गर्ने, लोक मङ्गलकारी भावना राख्ने असल व्यक्ति भएछन्, समाजमा उन्नति होस् भन्ने विचार राख्ने दोर्जे शेर्पा स्कूल समितिका अध्यक्ष हुनपुगेछन्, कर्णबहादुर सर जस्ता शिक्षक आज त्यसै स्कूलका कर्णधार शिक्षक हुन पुगेछन्। कर्णबहादुर सर आजसम्म पनि मेरुनिशा गुरुमा र महेन्द्र शर्मा सर बसेका कुर्सीमा बसेका छैनन् रे। गुरुमा गुरुबाप्रति मनमा यतिका श्रद्धा जगाउन पनि ती सर, गुरुमा कै देन ता हुन् नि।
गाउँको इतिहास गाउँले भन्छन् व्यक्तिले होइन
मुलसमानी परिवारकी भएकी भएपनि के भो र, गाउँका खाँटी नेपाली परिवेशले नेपाली व्यारकरण छिचोलिन, गुरु आर बी राईज्यूले सिकाएका व्याकरणमा गुरुचण्डालिका दोषका कुरा कहिल्यै भुल्दैनन्। उनी सँधै आदरनीय र मायालु शिक्षकहरूलाई सम्झिरहन्छन्,जसले उनलाई रेलिङ प्राथमिक विद्यालयमा आधारभूत शिक्षा प्रदान गरे। ती सम्मानित शिक्षकहरुको नामकुम्बालाल तामाङ सर, जे.बी. थामी सर, तारा कुमार क्षेत्री सर, जीबी राई सर। यसैले शुद्ध नेपाली बोल्छिन्, नेपाली भाषा साहित्यका कुरा गरे, उनका सहपाठी कवि मनप्रसाद सुब्बा र रुद्रराज मास्केका कुरा झिक्छिन्। लेखक गुमानसिंह चाम्लिङका साहित्यिक सिपप्रति गुमान गर्छिन्। यस्तै अनेकौं पुराना कुराहरूलाई सम्झेर गदगद हुन्छिन्। गाउँमा रात्रि पाठशालाका आफ्नै उमेरका छात्रासित घाँस दाउरा जाने गुरुमाको वृतान्त सुन्दा एउटा रोचक इतिहास बनिरहेछ। मैले सोंधे, “गुरुमा यसमाथि केही लेखिटोपलूँ?”, हातमा चिरुवा दाउरा भए बजाउथिइन् होली, आजभोलि शहरमा बस्छिन्, उमेर होला, शान्त भएर भनिन् “गाउँको इतिहास गाउँले लेख्नु पर्छ एकजना व्यक्तिले होइन”। त्यहाँका इतिहास ता पासाङ शेर्पा, डुपछिरिङ शेर्पा, लाक्पा शेर्पा, पेन्टु शेर्पा, निम्तेञ्जी शेर्पार गाउँले आदिलाई पो थाहा छ त भनिन्।
त्यस दुर्गम क्षेत्रमा स्थापित स्कूलमा हैंसेमा होस्टे थप्दै पढ्ने परिवेश बसाल्ने गुरुबा अमरप्रकाश छेत्री, टिका प्रधान, कुमार थापा, टेकबहादुर गुरुङ, बिष्णुकान्ता शर्मा, राजकुमार राई अनि कर्णबहादुर छेत्री गुरुबाहरूले मल जल थप्दै लगेछन्। यसै स्कूललाई हालसालै गोर्खल्याण्ड क्षेत्रीय प्रशासनद्वारा उत्कृष्ट प्राथमिक पाठाशाला भनेर सम्मानित पनि गरिएछ। यी गुरुमा गुरुबाहरूका खुन पसिना एक गरेपछि स्कूलले मान्यता पाएको लगभग उन्पचास टेकिसकेको छ, आउँदो वर्ष पचास पनि टेक्ने रहेछ, एउटा गोल्डन जुब्ली नै। यस स्कूलका अन्य गुरुबा गुरुमा पनि होलान् उनीहरूका सत्प्रयासले यी दुर्गम क्षेत्रका मानिसहरूलाई सुगम जीउने बाटो देखाइदिँदै आइ रहेछन्। मलिलो भूमि र कलिलो मस्तिष्कमा शिक्षाको बीउ छरिदिने, उनीहरूको योगदानको इतिहासको पाना अङ्कित हुनु नै पर्ने हो।
आज आइतबारे विदाको दिन, मित्र बिनोदकी मुमाले शेर्पा गाउँ जाने तरखर गरेको देखेर बाटाका निम्ति चिया रोटी सब्जी पोको पारिदिएछिन्। कैंजले लामा गाउँको तेर्सै तेर्सो घण्टा एक बितेपछि एकलास ठाउँमा स्कूलले भोलिको सोमबारे घण्टी अनि बाल-बालिकाका हो हल्ला कुरेर बसिरहेकोरहेछ। स्कूलले यसरी प्रत्येक वर्ष कुर्दै कुर्दैयोग्य छात्रहरू उमारिरहेको छ। यस्तै छोटो ऐतिहासिक कैरन एक हिँडाइमा लेखिए। देखिएका, सुनिएका र भेटिएक कुराहरू मात्र लेखिए, तर यस्ता धेरैका योगदानहरू पनिनछेकियोस्, नधमिलियोस्। शिक्षाका क्षेत्रमा विगतका धेरै कुराहरू सुनौला अक्षरहरूमा लेखिन सक्दछन् तर भविष्यका निम्ति वर्तमान्ले बनाउँदै गरेका इतिहास सुनौला अक्षरले अङ्कित होला कि काला अक्षरले पोतिएला यस्ता प्रश्नहरू बोकेर क्षतविक्षत भएका छन् वर्तमान्। यद्यपि यति भन्न मन लाग्छ, “ओ मेहरुनिसा! तिमीले उत्तोलन गरी राखेको देशको पवित्र त्रिरङ्गा उत्तरपट्टिको चिसो र ताजा बतासले आज पनि रेलिङ शेर्पा गाउँमा फर्फराइ रहेको रहेछ।”










