राजगञ्ज: केही महिना अघि श्रमिक काम गर्नका लागि अन्य राज्यमा गएका एकजना व्यक्ति भोट लगाउनको लागि घर आइरहेको समय आधा बाटोमा नै निखोज भएका छन्। धेरै दिनसम्म पनि तिनको कुनै पत्तो नलागेपछि तिनको परिवार चिन्तित बनेको छ। प्राप्त जानकारी अनुसार हराएको व्यक्तिका नाम सुनील उरांव (५४) हो। तिनी राजगञ्ज ब्लकको बिन्नागुढी ग्राम पञ्चायत अन्तर्गत गधेयागछको गाराधुरा गाउँ निवासी हुन्। पारिवारिक सूत्र अनुसार सुनील उरांव लगायत अन्य केही मानिसहरू एकजना ठेकेदारसित काम गर्नका लागि अन्य राज्यमा गए थिए। लोकसभा चुनाउ गत १९ अप्रेलको दिन थियो। यसभन्दा दुई दिन अगावै सुनील उरांव लगायत तीन जना भोट लगाउनको लागि त्यहाँबाट घर आएका थिए। अन्य व्यक्तिहरू आ-आफ्नो घर पुगे तापनि सुनील उरांव आधा बाटोदेखि नै हराएका छन्। परिवारका सदस्यहरूले विभिन्न ठाउँमा सोध-खोज गरे तापनि हालसम्म तिनको कुनै पत्तो नलागे पछि अन्तमा आमबाडी पुलिस आउट पोस्टमा अभियोग दर्ता गरेको छ। धेरै दिन बितिसक्दा पनि तिनको कुनै सुइँको नलागेपछि परिजन चिन्तित छन्।











