खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले खरसाङमा आयोजित चुनावी रैली र चुनावी पथ सभालाई सम्बोधन गर्दै हाम्रो खरसाङ सबैभन्दा सुन्दर र ठूलो समष्टि हो। खरसाङ सबै कुराले भरिपूर्ण भएको सुन्दर स्थान हो। तर यहाँको नेताहरुले खरसाङलाई हेप्ने गरेका छन्। तर यसपाली खरसाङले अन्याय र अत्यचार साथै भ्रष्टाचारको विरोधमा जनताले देखाई दिनुपर्छ भनी बताएकी छन्। उनले भनिन्,-‘खरसाङ शिक्षाको केन्द्र हो। तर खरसाङमा नानीहरुका लागि फुटबल खेल्ने खेल मैदानसम्म पनि छैन। हाम्रो क्षेत्रको विकासका कार्यहरु केवल बाहिरकाहरुलाई दिन्छौँ तर हिजो उदघाटन गरिएको पुलमा बाहिरको कसैको आवश्यकता परेन। अब भ्रष्टाचार गर्नेहरुलाई छोड्नु हुँदैन। खरसाङ महकुमा अस्पतालको अवस्था अहिले अस्त व्यस्त छन्। यसको परिवर्तन आवश्यक रहेको छ।’
बन्दना राईले अघि भनिन् -‘नारी शक्तिलाई पहाड चलाउने मौका दिनुपर्छ। यसपाली ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले एकजना नारीलाई मौका दिएको छ। एकजना नारी शक्ति चुनावमा उम्मेद्वार रहेकी छन् र चुनावमा सबैले जिताउनुपर्छ।’
उनले पहाडको राजनीतिक दलहरु भारतीय जनता पार्टी, गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा आदिका शीर्ष नेताहरु र बुध्दीजीवीहरु सम्बोधन गर्दै भनिन् ‘सबैले खट्नु भयो तर सूर्यको गोटीले ले दियो? उल्टै हिजो अस्ती आउने भाइले घुसपैठ भन्दैछ। भाइ मूसा जस्तो भएर पहाड आयो तर अहिले स्याल बनेको छ। टाइगर त हामी हौं। टाइगर चै गोर्खा हो। गोर्खा विश्वलाई जित्ने जाति हो। आफ्नो खून दिएर भए पनि आफ्नो ठाउँ रक्षा गर्ने योध्दा हो। गोर्खा इमान्दार हुन्छन्। तर धोती मिक्स गोर्खाले बुझ्दैन।’
ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले अझ भनिन् -‘परिवर्तन सबैतिर हुन आवश्यक छ। परिवर्तन गाउँ बस्ती र कमानतिर पनि हुनुपर्छ। श्रमिक आमाको समस्याहरु समाधानको लागि परिवर्तन हुनुपर्छ। श्रमिक आमाको निम्नतम रोजगारको लागि परिवर्तन हुनुपर्छ। आमाहरुको अधिकारको लागि पनि परिवर्तन आवश्यक छ।’
बन्दना राईले दाबी गर्दै भनिन्, ‘हामीलाई चियाबारी श्रमिकहरुले जिताई सकेका छन् र अब बजार क्षेत्रले पनि जिताउनुपर्छ। खरसाङको 20 वटै वार्डहरु हार्नु हुँदैन। यो पाली नारी शक्तिलाई विश्वास गर्नु हवस ल मौका दिनु हवस।’










