सिलगढी: अन्नपूर्ण योजना लगायत अन्य सामाजिक कल्याणकारी योजनाहरूबाट योग्य महिलाहरूलाई वञ्चित गराइएको आरोप लगाउँदै अखिल भारतीय जनवादी महिला सङ्घ (एआईडीडब्ल्यूए)ले सिलिगुडीमा सशक्त विरोध प्रदर्शन गरेको छ।
मङ्गलबार बाघाजतिन पार्कबाट सुरु भएको विरोध र्याली सिलगढी नगर निगम (एसएमसी) परिसर पुगेको थियो। नगर निगमको मुख्य ढोकामा प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि केही समय तनाव उत्पन्न भएको थियो। त्यसपछि सङ्गठनको ५ सदस्यीय प्रतिनिधिमण्डललाई मात्र कार्यालयभित्र प्रवेश गर्ने अनुमति दिइएको थियो।
प्रतिनिधिमण्डलले नगर निगमका अधिकारीहरूसँग भेटघाट गरी आफ्ना मागहरूबारे छलफल गरेको छ। सङ्गठनका प्रतिनिधिहरूका अनुसार वास्तविक तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई सरकारी सुविधाबाट बाहिर राखिँदा उनीहरू मौलिक अधिकारबाट वञ्चित भएका छन्।
सङ्गठनले तत्काल सम्पूर्ण लाभग्राही सूचीको पुनः छानबिन गरी योग्यता पुगेका सम्पूर्ण महिलाहरूलाई समावेश गराउन जोडदार माग गरेको छ। यता सिलगढी नगर निगमका अधिकारीहरूले भने उक्त विषयलाई गम्भीरताका साथ लिँदै आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।











