गान्तोक। अन्तराष्ट्रीय योगा दिवस भोलि अर्थात मंगलबार इञ्चे गुम्बामा पालन गरिने भएको छ। यस कार्यक्रमबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित पैदल यात्रालाई सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारीले आज बिहान हरियो झण्डा देखाए। सिक्किम ओलम्पिक एसोसिएशन अनि टीडीआरबीएफ एथलेटिक क्लब रेसिथाङको सहयोगमा उपभोक्ता मामिला, खाद्य एवं जनवितरण मन्त्रालय अनि पर्यावरण, वन एवं मौसम परिवर्तन मन्त्रालयद्वारा छोटो पैदल यात्रा कार्यक्रम आयोजन गरिएको थियो। पैदलयात्रामा विद्यार्थी लगायत अन्यको सहभागिता रहेको थियो।
कार्यक्रमको शुरुआतमा उपभोक्ता मामिला, खाद्य एवं जनवितरण, पर्यावरण, वन एवं मौसम परिवर्तन केन्द्रिय राज्यमन्त्री अश्विनी चौबेले भर्चुअल रूपमा सम्बोधन गर्दै सहभागीहरूलाई शुभकामना दिए। जानकारी गराइन्छ, योपाली अन्तरराष्ट्रिय योगा दिवसको थिम “मानवताको निम्ति योगा’’ रहेको छ। उत्तम मानसिक स्वास्थ्य अनि कल्याणको महत्वबारे योपालीको थिममा ध्यानाकर्षण गराइएको छ।










