दार्जिलिङ: अनित थापाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपालको पदबाट राजीनामा दिनु समय सापेक्ष र परिस्थितिअनुकूल निर्णय हो। हामी यस निर्णयलाई सकारात्मक दृष्टिकोणले हेर्दै स्वागत गर्दछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिको केन्द्रीय अध्यक्ष अमृत योञ्जनले बताएका छन्। उनले अनित थापाको राजीनामा विषयमा बोल्दै भने, ‘नेतृत्व भनेको केवल पदमा रहिरहनु मात्र होइन, आवश्यक पर्दा संगठन, विचार र क्याडरहरूको दीर्घकालीन हितका लागि एउटा कदम पछाडि हट्ने साहस पनि हो। इतिहासले प्रमाणित गरेको छ कि असल नेताले व्यक्तिगत पदभन्दा आन्दोलन, संगठन र जनताको हितलाई सधैं माथि राख्छन्। त्यसैले यस घटनालाई लिएर हाम्रा कुनै पनि क्याडर, समर्थक तथा शुभेच्छुकहरू निराश वा हतास हुनु आवश्यक छैन। संघर्षको यात्रा उतारचढावले भरिएको हुन्छ, तर लक्ष्यप्रति हाम्रो प्रतिबद्धता, एकता र विश्वास कहिल्यै कमजोर हुनु हुँदैन।’
युवा शक्तिको केन्द्रीय अध्यक्ष अमृत योञ्जनले अझ भने, ‘यो निर्णयलाई अन्त्यको रूपमा होइन, नयाँ रणनीति, नयाँ ऊर्जा र अझ सशक्त यात्राको सुरुवातको रूपमा लिनुपर्छ। संगठन बलियो छ, विचार बलियो छ र सबैभन्दा महत्वपूर्ण कुरा हाम्रा कार्यकर्ता र जनताको विश्वास बलियो छ। हामी सबै क्याडरहरूलाई धैर्य, अनुशासन र एकता कायम राख्दै संगठनको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दछौं। समय बदलिन्छ, परिस्थिति बदलिन्छ, तर लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै बदलिनु हुँदैन।’
उनले सबैलाई आह्वान् गर्दै भनेका छन् ‘एकता हाम्रो शक्ति हो, धैर्य हाम्रो अस्त्र हो, र जनताको विश्वास हाम्रो सबैभन्दा ठूलो पूँजी हो।’











