सिलगढी: उखरमाउलो गर्मी बढेपछि राज्य सरकारले दार्जिलिङ र कालेबुङको पार्वत्य क्षेत्र वाहेक बंगाल भरिकै सबै स्कुल, कलेज अनि विश्वविद्यालयहरूमा एक साताको लागि विदाको घोषणा गरेपछि आज सोमबारदेखि सबै शैक्षिक संस्थानहरू बन्द रह्यो। अधिक गर्मीलाई ध्यानमा राखेर राज्यको स्कुल, कलेज अनि विश्वविद्यालयको गरम महिनाको छुट्टी पनि चाँडै दिने भएको छ। राज्य सरकारले घोषणा गरे अनुसार आगामी २ मईदेखि छुट्टी दिनु पर्ने बताइएको छ। अर्कोतिर, भाजपाले गर्मीको छुट्टी अगावै दिनु पर्छ भन्ने राज्य सरकारको घोषणालाई विरोध जनाएको छ। भाजपा राज्य महासचिव तथा सिलगढीका विधायक शंकर घोषले गर्मीको मौसम शुरू हुनसाथ यसरी स्कुल कलेजहरू छुट्टी दिनु ठीक नरहेको बताएका छन्। अधिक गर्मी भएको खण्डमा स्कुल कलेजहरूलाई बिहानको शिफ्टमा खोल्नु पर्ने सुझाउ दिएका छन्।











