अगस्त्य : च्याप्टर–१’को सफलता पछि निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माण गर्ने

karma

काठमाडौं: गत वर्षको १ मार्च (फागुन १८ गते)मा  प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। फिल्मको नाम ‘कर्मा’ राखिएको छ। बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो। सार्वजनिक थिम पोस्ट हेर्दा युद्ध लड्न हिँडेका सौनिहरु देख्न सकिन्छ। यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने फिल्मको कथा पनि उनी स्वयंले लेखेका छन्। यो फिल्म एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ। निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो। तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो।

निर्देशक चौधरीले  फिल्मको टाइटल घोषणासँगै भने,’अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु। बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ। यो फिल्म एक्सन मात्रै होइन। एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो भनेको यसको स्क्रिप्ट हो। यसको पटकथा कसिलो छ।’ आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा बसन्त लम्सालले लगानी गर्नेछन्। फिल्मको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन। कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए। सौरभले ‘अगस्त्य: च्याप्टर–१’ बाट मेकिङमा गरेको मेहनतको तारिफ भएको थियो।

About Author

Advertisement