गेजिङ। अखिल सिक्किम सरकारी वाहन चालक संघको जिल्ला समिति विस्तार तथा जिल्ला स्तरीय समन्वय सभा आज गेजिङ जिल्लामा सम्पन्न भयो। गत १९ जूनदेखि शुरु भएको जिल्ला अभियानको चौथो दिनको कार्यक्रम अन्तर्गत संघले गेजिङ जिल्लाका निम्ति दिलीप सुब्बालाई उपाध्यक्ष प्रभारी, ग्याल्छेन लेप्चालाई महासचिव प्रभारी र गोम्छेन भोटियालाई जिल्ला समन्वयक चयन गरेको छ। केन्द्रिय समितिले तीनजना जिल्ला प्रभारीको चयन गरेपछि उनीहरूको अगुवाईमा १६ जनाको जिल्ला समिति पनि आज नै गठन गरिएको छ। जिल्ला समितिको विस्तार र बैठक आयोजनका निम्ति गेजिङ पुगेको अखिल सिक्किम सरकारी वाहन चालक संघको केन्द्रिय समितिलाई आज गेजिङ जिल्लाका सदस्यहरूले भव्य स्वागत जनाएका छ। केन्द्रिय समितिका अध्यक्ष छोपेल दोर्जी भोटियाको नेतृत्वमा जिल्ला भ्रमण रहेको टोलीले गेजिङमा आयोजित बैठक अवधि जिल्लाका चालक सदस्यहरूको समस्याको सुन्वाइ गर्नसितै चालक संघलाई अनुसाशन र संविधानको दायरामा रहेर कसरी बलियो बनाउन सकिन्छ भन्ने पक्षहरूमाथि छलफल गरेको छ। आज चयनित भएका जिल्ला समितिका सबै सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरियो।
गान्तोकबाट गएको कार्यकारिणी समितिको शीर्ष टोलीले गेजिङ जिल्लाका पुलिस अधीक्षक हरि छेत्रीसंग र शिष्टाचार भेट गर्न साथै गेजिङ जिल्लाका डीपीओ गंगा प्रसाद शर्मासँग भेटघाट गरेर सभाकक्ष प्रधान गरेकोमा धन्यवाद दिँदै सरकारी चालकका बिभिन्न समस्यालाई लिएर चर्चा गरेको संगठनका महासचिव प्रदीप गौतमले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।










