अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण संघको बैठक

IMG-20250217-WA0221

आगामी २६ फरवरीको दिन गेजिङस्थित क्योङसा खेल मैदानमा आयोजन गरिने अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको ३०औं स्थापना दिवस तयारीलाई लिएर आज देवरालीस्थित एक होटलमा आवश्यक सभा सम्पन्न भयो। सभामा सिक्किम सरकारका मन्त्रीद्वय अरुण कुमार उप्रेती र राजु बस्नेत, सल्लाहकार एवं विधायकगण बीएस पन्त, सञ्जीत खरेल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, अन्य पछौटे बर्ग आयोगकी अध्यक्ष पवित्र भण्डारी, गान्तोकका जिल्ला अध्यक्ष बलराम अधिकारी, सरकारी ठेकेदार संगठनका अध्यक्ष सहदेव शर्मा, खस समुदायका वरिष्ठजन लगायत समुदायका धेरै व्यक्तित्वको उपस्थिति रहेको थियो। बैठकमा आउँदो खस स्थापना दिवसमा व्यापकरूपमा उपस्थिति दिएर छेत्री बाहुन समुदायमाथि कुदृष्टि राख्नेहरूलाई गत्तिले जवाफ दिने सम्बन्धमा छलफल गरियो। वर्तमानमा सामाजिक सञ्जालतिर फैलिरहेको सिक्किमका खस छेत्री बाहुनमाथि गरिएको अभद्र टिप्पणीलाई लिएर उपस्थित वक्ताहरूले आ-आफ्नो मनसाय व्यक्त गरेका थिए। दिमागी अवस्था ठीक नभएका कुतत्त्वले खसको समाज भाँड्ने चेष्टा गरेको तर यस्ता कुराहरूले संघ अझ बलियो भएर गएको वक्ताहरूको बयान थियो। एक सामान्य अनि दिमागी हालत ठीक नभएको व्यक्तिले सामाजिक सञ्जालमा कराउँदैमा खस संघको स्थापना दिवस पालन गर्नमा रोक नलाग्ने तर अझ जोश र उत्साह अनि भव्यताको साथमा पालन गर्ने दिशामा तयारी शुरु गर्ने सभाले निर्णय गरेको छ।
२०१९ अघिसम्म खस छेत्री-बाहुन समुदायले यसरी खुल्ला रूपमा सभा-बैठक आदि गर्न नपाउने गरेको तर मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वाधीन सरकार गठन भएपछि खस समुदायले शिर उच्च पारेर यसरी खुल्लारूपमा बैठक आयोजन गर्न पाएको सभामा चर्चा गरियो। जब खस समुदाय एक भएर अघि बढ्छ तब कुदृष्टि राख्नेहरूले खस समुदायलाई भाँड्ने अनेकौँ हतकण्डा अपनाउने गरेको इतिहासले बताउँदै आएको छ। खस समुदायलाई विभाजन गर्ने उद्देश्यमा कुतत्त्वहरूले जति षड्यन्त्र गर्छन् त्यति नै समुदाय अझ बलियो अनि एकत्रित भएर जाने सभामा अवगत गराइयो। खस छेत्री-बाहुन कल्याण संघको ३०औँ स्थापना दिवसमा राज्यभरिबाट व्यापक रूपमा उपस्थिति दिएर अहिलेसम्मकै सबैभन्दा ठूलो जमघट गराउने दिशामा पहलन गर्ने सभामा चर्चा गरियो। यस समारोहमा सम्माननीय मुख्यमन्त्रीको विशेष उपस्थिति रहने भएको कारण खस समुदायको निम्ति दिने सन्देशलाई सुन्न आह्वान गरिएको छ।

About Author

Advertisement