काठमांड: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखण्ड भारतको नक्शाबारे भारत भ्रमणका बेलामा कुरा उठाएको बताएका छन्। उनले भारतीय पक्षले राजनीतिक नभई ऐतिहासिक र सांस्कृतिक नक्शा भएको जवाफ दिएको जानकारी दिए।
बुधवार नेपालको संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदै अखण्ड भारतको नक्शाबारे प्रचण्डले भने, ”के हो नक्शा भन्ने प्रश्न गरेँ। यो कुनै राजनीतिक नक्शा होइन ऐतिहासिक र सांस्कृतिक नक्शा हो राजनीतिक रुपमा हेर्नुहुँदैन भन्ने जवाफ आयो।”
भारतले नयाँ संसद भवनमा अखण्ड भारतको मुरल राखेपछि नेपालमा यसबारे प्रश्न उठिरहेको छ। सरकारका तर्फबाट यसबारे भारतलाई कूटनीतिक नोट पठाउन सांसदहरुले माग समेत गरेका छन्।
यसैगरी, नेपाल भारत इमिनेन्ट पर्सनल ग्रुप (इपीजी) को रिपोर्ट भारतले नबुझेकोबारे पनि संसदमा प्रश्न उठेको छ। प्रधानमन्त्री प्रचण्डले भारतले यसलाई कुनै ठूलो कुरा नभएको जवाफ दिएको बताए। अर्कोपटक वातावरण बनेपछि इपीजीको रिपोर्टका बारे निर्णय लिइने जवाफ आएको बताए।
नेपाल र भारतबीच १९५० को सन्धी पुनरावलोकनका लागि २०१६ को जनवरीमा इपीजी गठन भएको थियो। २०१८ को जुलाई मा रिपोर्टलाई अन्तिम रुप दिएपनि दुवै देशका सरकारले लिएका छैनन्।









