कोलकाता: भारतको हावडास्थित नारायणा अस्पतालमा चौथो पुस्ताको दा भिन्ची रोबोटिक सर्जिकल सिस्टमको प्रयोग गरी एकै दिन लगातार नौवटा रोबोटिक शल्यक्रिया सम्पन्न गरिएको छ। अस्पतालका कन्सल्टेन्ट–जनरल, ल्याप्रोस्कोपिक तथा रोबोटिक सर्जरी विशेषज्ञ डा. शशांक शुक्ला र उनको टोलीले यी शल्यक्रिया गरेका हुन्।
तीमध्ये सबैभन्दा ज्येष्ठ बिरामी ९० वर्षका र कान्छा ३० वर्षका थिए। उनीहरूमा पित्तथैली निकाल्ने शल्यक्रिया, हर्निया मर्मत तथा एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो। जटिल इन्ग्वाइनल हर्नियादेखि पेटको भित्तासम्बन्धी भेन्टल हर्नियासम्मका समस्या पनि उपचार गरिएको अस्पतालले जनाएको छ।
डा. शुक्लाका अनुसार एकै दिन नौवटा शल्यक्रिया गर्नु कुनै रेकर्ड कायम गर्ने उद्देश्यले गरिएको होइन। उनका लागि प्रत्येक बिरामीको चिकित्सकीय आवश्यकता अनुसार उपयुक्त उपचार विधि छनोट गर्नु मुख्य कुरा हो। पछिल्लो समय रोबोटिक शल्यक्रियाप्रति बिरामीको चासो बढ्दै गएको र अस्पतालमा सामान्यतया पनि दैनिक एक–दुईवटा यस्ता शल्यक्रिया हुने गरेको उनले बताए।
यो दिन युवा चिकित्सक तथा उदाउँदा शल्यचिकित्सकका लागि ‘खुला कक्षाकोठा’ जस्तै पनि बनेको थियो। विभिन्न प्रकारका शल्यक्रिया प्रत्यक्ष अवलोकन गर्ने अवसरले नयाँ पुस्तालाई आधुनिक प्रविधिबारे व्यावहारिक ज्ञान दिएको अस्पतालको भनाइ छ।
अस्पतालका सुविधा निर्देशक अजितकुमार बेल्लमकोन्डाले यस्तो सफलता शल्यचिकित्सा, एनेस्थेसिया, नर्सिङ तथा सहयोगी टोलीको समन्वित प्रयासबाट सम्भव भएको बताए।
रोबोटले आफैं शल्यक्रिया गर्ने होइन। दा भिन्ची प्रणालीमा शल्यचिकित्सकले कन्सोलबाट रोबोटिक उपकरण नियन्त्रण गर्छन्। यसले सूक्ष्म चाल, स्पष्ट दृश्य र उपकरणमाथि थप नियन्त्रण प्रदान गर्छ। डा. शुक्लाका अनुसार भविष्यमा रोबोटिक शल्यक्रियाको माग अझ बढ्नेछ। रेकर्ड लक्ष्य नभए पनि आफ्नो रेकर्ड आफैं तोड्न पाउँदा खुसी हुने उनको भनाइ छ।





