भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा एमएसएमईका लागि पाकिममा बैठक

गान्तोक: भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा २९ जूनको दिन पाकिममा एमएसएमईका लागि नगरभवन बैठक आयोजन गरियो। आरबीआइ, गान्तोकका महाप्रबन्धक एवं प्रभारी किशोर परियारको अध्यक्षतामा आयोजित बैठकमा एमएसएमई-डीआइ, केभीआइसी, डीआइसी, सिडबी, शीर्ष ब्याङ्क, ब्याङ्कका स्थानीय शाखा अनि एसईईडीका प्रतिनिधिहरूका साथमा उद्यमीहरू पनि उपस्थित थिए।

सिडबी, सिक्किमका प्रभारी प्रबन्धक रित्विज शर्माले सरकारद्वारा प्रायोजित विभिन्न योजना जस्तै मुद्रा, स्ट्याण्ड अप इण्डिया अनि राष्ट्रिय पशुधन अभियानबारे संक्षिप्त जानकारी दिए। यसका साथै उनले प्रतिभागीहरूलाई सूक्ष्म एवं लघु उद्यमका लागि ऋण प्रत्याभूति निधि न्यास (सीजीटीएमएसई) बारे जानकारी दिँदै यस अन्तर्गत कर्जाकर्ताले ऋण रकमको १.५% देखि २.५% सम्म वार्षिक किस्ती भुक्तान गर्दै अनुसूचित वाणिज्यिक ब्याङ्कहरूबाट २ करोड रुपियाँसम्मको धरौटीमुक्त ऋण प्राप्त गर्नसक्ने जानकारी दिए।

यसै गरी एमएसएमई-डीआइका सहायक निर्देशक डीआर शर्माले एमएसएमई समूह विकास कार्यक्रम अन्तर्गत समूहलाई (कम्तिको पनि १० एमएसएमई एकाइ) प्रदान गरिने विभिन्न लाभबारे जानकारी दिए। विभिन्न सरकारी सहायता प्राप्त गर्न उद्यमीहरूलाई “उद्यम पञ्जिकरण” अन्तर्गत पञ्जिकरण गराउन पनि उनले आग्रह गरे।

केभीआइसीका निर्देशक श्रीमती सल्लेअसुली पाओले नयाँ स्वरोजगारका उद्यम/ परियोजना/ सूक्ष्म उद्यमहरू स्थापना गरी ग्रामीण अनि शहरी इलाकामा रोजगार अवसर सिर्जना गर्न केन्द्रित प्रधानमन्त्री रोजगार सिर्जना कार्यक्रम (पीएमईजीपी) बारे जानकारी दिइन्। पीएमईजीपी अन्तर्गत संशोधित नियमले आफ्नो परिधिभित्र अरू धेरै एकाइ सामेल गर्दै विनिर्माण क्षेत्रका लागि ५० लाख र सेवा क्षेत्रका लागि २० लाखसम्मको सीमा बढाइएको पनि उनले जानकारी दिइन्।

सिक्किम सरकारको डीआइसीका निरीक्षक सीएम छेत्रीले राज्यद्वारा प्रायोजित कौशल युवा स्टार्टअप योजनाबारे (एसवाइएसएस) जानकारी दिँदै उद्यमीहरूका शङ्का निवारण गरे।

यसै गरी छुजाचेनकी उद्यमी श्रीमती होमिका गुरुङले उदीयमान उद्यमीहरूसँग केटरिङ कारोबारको सफलताबारे अनुभूति साझा गरिन्।

आरबीआइ, गान्तोकका महाप्रबन्धक एवं प्रभारी किशोर परियारले आफ्नो सम्बोधनमा एमएसएमई क्षेत्र, प्रधानमन्त्री रोजगार प्रत्याभूति कार्यक्रमका साथमा उद्यमीहरूलाई ब्याङ्कद्वारा प्रदान गरिएका ऋणका विभिन्न पक्षबारे जानकारी दिए। यसका साथै विभिन्न हितधारकलाई ऋण सहायता लिने तरिकाबारे पनि जानकारी दिँदै कर्जाकर्ताहरूका कर्तव्य अनि अधिकार लगायत समयमा ऋण वितरण सुनिश्चित गर्नुपर्ने कुरामाथि बल दिए।

नगरभवन बैठक आयोजन गर्नुको मुख्य उद्देश्य इउद्यमीहरूलाई ब्याङ्कबाट प्राप्त गर्नसकिने सुविधाहरूबारे जागरूक गराउनका साथै ब्याङ्कसँग नजोडिएका उद्यमहरूलाई औपचारिक रूपमा ब्याङ्किङ प्रणालीसँग जोड्न र हितधारकहरूबीच दुईमार्गी सञ्चारको मञ्च सिर्जना गर्नुरहेको थियो। उद्यमीहरूद्वारा ब्याङ्कको सेवा प्राप्त गर्न सामना गर्नुपर्ने कठिनाईबारे पनि चर्चा गर्दै तत्काल समाधानका उपाय निकालियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *