तारकेश्वर धामलाई अन्तर्राष्ट्रिय स्वरूप दिइने: मुख्यमन्त्री​

aa33439a-1205-4313-8a1d-6ccf68dbf85b

काेलकाता: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यको धार्मिक पर्यटनलाई नयाँ पहिचान दिन ‘तीर्थक्षेत्र सर्किट’ विकास गर्ने घोषणा गरेका छन्। श्रावणी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले आगामी दुई वर्षभित्र यस महत्त्वाकांक्षी परियोजनाका लागि १ हजार करोड भारतीय रुपैयाँ खर्च गरिने जानकारी दिए।
​घोषित योजनाअनुसार मुर्शिदाबादको किरीटेश्वरी मन्दिर, जलपाईगुडीको जल्पेश मन्दिर, कोचबिहारको मदनमोहन मन्दिर, वीरभूमको तारापीठ, कोलकाताको दक्षिणेश्वर काली मन्दिर, कालीघाट र हुगलीको तारकेश्वर धामलाई एउटै धार्मिक पर्यटन सर्किटमा जोडिनेछ।
​”केन्द्रीय सरकारको विकासको भावना अनुरूप नै राज्य सरकारले धार्मिक पर्यटन र तीर्थस्थलहरूको विकासलाई प्राथमिकतामा राखेको छ,” मुख्यमन्त्री अधिकारीले भने, “नयाँ सरकारले राष्ट्रवादी सोच र सनातन सांस्कृतिक परम्पराको सम्मान गर्दै राज्यलाई विकासको नयाँ मार्गमा अघि बढाउनेछ।”
​उनले विगतमा काँवरयात्री र श्रद्धालुहरूको सेवा व्यक्तिगत स्तरमा हुने गरेको स्मरण गर्दै अब सरकारले नै व्यवस्थित रूपमा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। काँवरयात्रीहरूको सुरक्षा र सुविधाका लागि प्रत्येक ५ किलोमिटरको दूरीमा सरकारी सेवा केन्द्र स्थापना गरिएको, खानेपानी तथा स्वास्थ्योपचारको व्यवस्था मिलाइएको र यात्रा मार्गमा आकर्षक बत्ती जडान गरिएको उनले बताए।
​तारकेश्वर धामलाई अयोध्या, काशी विश्वनाथ र उज्जैनको तर्जमा भव्य रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरको तीर्थस्थल बनाउने र श्रावणी मेलालाई राष्ट्रिय एवं ऐतिहासिक मेलाको दर्जा दिलाउने राज्य सरकारको लक्ष्य रहेको उनले प्रस्ट पारे। विकास निर्माण कार्यको अनुगमनका लागि तारकेश्वर विकास प्राधिकरणमार्फत अतिरिक्त जिल्ला अधिकारीलाई जिम्मेवारी सुम्पिएको छ।
​कार्यक्रममा साधुसन्तहरूले मुख्यमन्त्री अधिकारीलाई त्रिशूल भेंट गरी स्वागत गरेका थिए। समारोहमा राज्यका मन्त्री सुमना सरकार, विधायक स्वराज घोष, तुषार मजुमदार लगायतका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

About Author

Advertisement