२५ जुलाईः भारत र वेष्ट इण्डिजबीच दोस्रो टेस्ट म्याचमा पाँचौं तथा अन्तिम दिनको खेल वर्षाले गर्दा रद्द गरियो। यसैकारण दोस्रो टेस्ट म्याचलाई ड्र घोषित गरियो। यसअघि खेलिएको पहिलो टेस्टमा जीत हासिल गरेको हुनाले दुईवटा टेस्ट म्याचको सीरीज चाहिँ १-०-ले भारतको नाममा रह्यो। यस म्याचमा भारतले पहिला ब्याटिंग गर्दै विराट कोहलीको शतक (१२१)-को सहायताले आफ्नो पहिलो ईनिंग्समा ४३८ रनको मजबूत स्कोर बनाएको थियो। त्यसपछि वेष्ट इण्डिजको पहिलो ईनिंग्स २५५ रनमा समाप्त भएको थियो। पहिलो ईनिंग्सको आधारमा १८३ रनको बढ़तपछि भारतले २ विकेटमा १८१ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा वेष्ट इण्डिजलाई म्याच जित्नको निम्ति ३६५ रनको लक्ष्य हासिल भएको थियो। त्यसपछि वेष्ट इण्डिजले चौथो दिनको खेल समाप्त हुँदासम्म २ विकेट गुमाएर ७६ रन बनाएको थियो।

त्यस समय म्याचमा भारतको जीत तय लागिरहेको थियो तर पाँचौं तथा अन्तिम दिन वर्षाले गर्दा खेल हुन सकेन अनि म्याच ड्र हुँदा वेष्ट इण्डिज निश्चित हारबाट बाँच्यो।
वर्षाले गर्दा लगभग हारिसकेको म्याच पनि ड्र हुँदा आयोजक वेष्ट इण्डिजलाई चाहिँ फाइदा भयो। यसको विपरीत भारतीय टीमलाई चाहिँ वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) पोइण्ट्स टेबलमा ८ पोइण्ट्सको नोक्सान भयो। वास्तवमा एउटा टेस्ट म्याच जित्दा टीमलाई १२ पोइण्ट्स प्राप्त हुन्छ। यसरी म्याच टाई भएको स्थितिमा ६ पोइण्ट्स अनि ड्र भए केवल ४ पोइण्ट्स हासिल हुन्छ।

यसैकारण भारतले १२ पोइण्ट्स हासिल गर्नको निम्ति पूरा दम लगाए पनि वर्षाले गर्दा रोहित शर्माको कप्तानीमा रहने टीमलाई केवल ४ पोइण्ट्स हासिल भयो। टेस्ट सीरीजको समाप्तिपछि अब भारत र वेष्ट इण्डिजबीच २७ जुलाईदेखि तीनवटा वनडे म्याचको सीरीज खेलिनेछ।









