गान्तोकः पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत दरमदिन बजारको हाटघरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को दरमदिन समष्टिस्तरीय सभा आज वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधानसभा अध्यक्ष केएन राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा पूर्वमन्त्री सोमनाथ पौड्याल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् वरिष्ठ उपाध्यक्ष सोमनाथ पौड्यालले भने, लोकतन्त्रमा विपक्षी दल सरकारको ऐना हो, यसलाई जोगाउनु सत्तारूढ दलको जिम्मेवारी हो। राजनीति गर्दा आफ्नो मर्यादा भुल्नु हुँदैन भन्दै पौड्यालले सर्वसाधारण जनतालाई उपेक्षा गर्नुहुँदैन भने।
सिक्किमका जनताले २०१९ को चुनाउमा सरकार परिवर्तन गरेर हेरिसकेका छन् अनि आज जनताले पुरानै सरकार असल रहेछ भनेर बुझिसकेका छन्, यसैले २०२४ मा एसडीएफलाई सरकारमा फर्काइल्याउन जनता तयार रहेको पौड्यालले ठोकुवा गरे। उनले भने, जनताले पनि तुलनात्मक दृष्टिले हेर्दैछन्। एसडीएफ पार्टी जनताको कल्याण गर्ने पार्टी हो अनि यो सदैव जनतासित खडा रहने पार्टी हो।
सभाध्यक्ष केएन राईले एसडीएफ पार्टी १९९३ देखि नै सिक्किम र सिक्किमेली जनताको हित र पक्षमा खडा भएको पार्टी रहेको बताए। उनले भने, राजनीतिक दलहरूले सत्ता र चुनाउलाई ध्यानमा राखेर राजनीति गर्छन् तर एसडीएफ पार्टी भने सिक्किम र सिक्किमेली जनताको सुरक्षा, हित र भविष्यलाई ध्यानमा राखेर राजनीति गर्ने पार्टी हो।
राईले भने, असल सरकारको मापदण्ड जनताको जीवनस्तरको आधारमा तय हुन्छ। आज सिक्किमको स्थिति ठीक छैन, जनताको जीवनस्तरमा ह््रास आएको छ। आय स्रोत छैन, राज्यको अर्थतन्त्र बिग्रिएको छ। उनले एसडीएफ पार्टी र चामलिङले आफ्नो वचनलाई पालन गर्दै जनताको हितमा काम गरेको इतिहास रहेको छ भनी बताए।

उनले मुख्यमन्त्री पीएस गोले मुख्यमन्त्री मात्र होइनन् गृहमन्त्री पनि हुन् तर उहाँले आफै जनताका घरभित्र पसेर ठीक पार्छौ भन्ने फरमान जारी गरेका छन् भनी बताए। उनले भने, आज सिक्किमका जनता सुरक्षित छैनन्। एसकेएम सरकारले आफै बोक्सी आफै धामी जस्तो नाटक गरिरहेको छ।
सभामा एसकेएम समर्थक ज्ञानबहादुर राई एसडीएफ पार्टीमा सामेल भएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ। आजको सभामा युवा मोर्चा संयोजक महेन्द्र नाल्बो, महासचिव सङ्गठन पेमनर्बु शेर्पा, युवा मोर्चा उपसंयोजक किशोर गुरुङ, चेली मोर्चा उपाध्यक्ष सकुन गुरुङ, युवा मोर्चा-प्रभारी रबिन तामाङले पनि सम्बोधन गरेका थिए।