राजधानीमा भूतपूर्व सैनिक मिलन कार्यक्रम सम्पन्न

ex_119

गान्तोकः सिक्किम बीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघको पहलमा आज राजधानीस्थित चिन्तन भवनमा पूर्व सैनिक मिलन कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्यमा पहिलोपल्ट पूर्व सैनिकहरूलाई लिएर ऐतिहासिक कार्यक्रम आयोजना गरिएको बताए। पूर्व सरकारले पूर्व सैनिकहरूको हितमा केही पनि नसोचेको कारणले गर्दा यस प्रकारको कार्यक्रम हुन नसकेको जानकारी गराए। राज्यका पूर्व सैनिकहरूको निम्ति आफू सदैव सकारात्मकरूपमा खडा रहने मुख्यमन्त्रीले वचन पनि दिए।

राज्यका पूर्व सैनिकहरूले आफ्नो अनुभव अबोप्रान्त राज्यको हितमा प्रयोग गरिनु पर्ने उनले सुझाउ दिएका छन्। विशेष गरेर राज्यको महाविद्यालय साथै उच्चत्तर माध्यमिक विद्यालयमा गएर विद्यार्थीहरूलाई सेनामा भर्ना हुनको निम्ति प्रशिक्षण साथै प्रोत्साहन दिनु पर्ने मुख्यमन्त्रीले पूर्व सैनिकहरूलाई आग्रह गरे। राज्यका नानीहरू सेनामा भर्ना हुन इच्छा गर्दैनन्, यसर्थ सिक्किमा आएको कोटा पूरा नभएको अवगत गराए।

पूर्व सैनिक संगठनलाई सरकारको तर्फबाट प्रतिवर्ष १० लाख रूपियाँ कार्यालय सञ्चालनको निम्ति प्रदान गर्ने घोषणा पनि गरे। सैनिक स्कूल निर्माणबारे केन्द्र सरकारसँग कुराकानी गर्ने मुख्यमन्त्रीले आश्वासन दिएका छन् भने आज संगठनद्वारा राखिएको सबै मागहरूलाई बिचार गर्ने उनले भरोसा दिलाए। गोर्खा समुदायलाई विश्वले नै विश्वास र सम्मान गर्ने भएको कारण गोर्खा सैनिकहरूको विश्वमा नै ठूलो इञ्जत रहेको बताए।

पूर्व सैनिकहरूको राष्ट्रप्रतिको सेवा, त्याग र वलिदानको सम्मान जनाउँदै आजको यस कार्यक्रम आफूले उपस्थिति दिएको मुख्यमन्त्रीले बताए। सैनिकहरू विश्वको नै अनमोल सम्पति रहेको बताउँदै सेनाबाट आम मानिसहरूले अनुशासन, व्यवहार धेर्यता आदि सिक्नु पर्ने उनले आग्रह गरे। जब पनि राष्ट्रमा संकटकालिन स्थिति उत्पन्न हुन्छ तब सेनाको भूमिला उल्लेखनीय रहनेको गरेको जानकारी गराए।

कोरोनाकालमा सेनाको भूमिकालाई लिएर शब्दमा बयान गर्न नसकिने मन्तव्य प्रकट गरे। सैनिकहरूले व्यक्तिगत चासो नराखेर सम्पूर्ण राष्ट्रको हितमा काम गर्ने भएकोले उनीहरूको यस निःस्वार्थ भावनाको कदर गर्नुपर्ने सुझाउ दिए। सिक्किम राज्यले गणतन्त्र दिवस, स्वतन्त्रता दिवस, गान्धी जयन्तीलाई पर्वकोरूपमा पालन गर्दै आइरहेको बताए।

उनले प्रसङ्ग फेर्दै एसकेएम पार्टी सरकारमा आएपछि उपचारको निम्ति कसैले पनि घर, जमीन बिक्री गर्नुपर्ने अवस्था नआएको बताए। राज्य सरकारले सम्पूर्ण उपचारको खर्च अहिलेसम्म व्यहोर्दै आएको र आफू दिल्ली गएको समयमा त्यहाँ उपचारधीन रोगीहरूलाई भेट गर्दै उपचारको निम्ति चाहिने खर्च प्रदान गरेको उनले थप बताए।

अहिलेसम्म सरकारले १५१ जनाको किडनी ट्रान्सप्लान्ट गरिसकेको छ भने सरकारले सबै प्रकारको रोगीहरूलाई उपचारको निम्ति सहयोग राशि उपलब्ध गराउँदै आएको मुख्यमन्त्रीले किटान गरे। तर पूर्व सरकारले भाषा मान्यता दिवसलाई पनि महत्व नदिएकोमा उनले दुःख प्रकट गर्दै एसकेएम पार्टीको सरकार गठन भएपछि प्रत्येक वर्ष २० अगस्तको दिनमा सरकारी विदा घोषित गरिएको बताए।

पूर्व सरकारले चाहेको भए भाषा मान्यता दिवसको अवसरमा सरकारी विदा घोषणा गर्न सक्थ्यो तर उनले उक्त विषयलाई गम्भीरताको साथमा नलिएको कारण भाषा मान्यता दिवसको महत्व नरहेको बताए। यस वर्षदेखि सरकारले राज्यस्तरीय तीज पर्व पालन गर्ने उनले घोषणा गरे।

यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ नेपालले मुख्यमन्त्रीको पूर्व सैनिकहरू प्रतिको लगाउ, झुकाउ, मायाको कारणले गर्दा आज पहिलोपल्ट राज्य पूर्व सैनिक सम्मेलन आयोजना गरिएको बताए। राज्यमा यस प्रकारको कार्यक्रम आयोजना गरिनु नै पूर्व सैनिकहरूको निम्ति सबै भन्दा ठूलो गर्वको विषय रहेको बताए। पूर्व सैनिकहरू भनेको राज्यको संसाधन रहेको कारण उनीहरूको सहयोगमा राज्यले धेरै विकास गर्न सक्ने मन्त्री नेपालले मन्तव्य प्रकट गरे। आजको यस कार्यक्रममा पूर्व सैनिकहरूलाई सम्मान पनि जनाइयो। कार्यक्रममा अखिल भारतीय गोर्खा पूर्व सैनिक संगठनका अध्यक्ष कर्णल आरएस छेत्री लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement