खरसाङ: मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका १०७ बटालियन टीएमा कार्यरत् खरसाङको गौरी शंकर चियाबारी निवासी विधान राईको पार्थिव शरीर उनको पैतृक घर बेलुका ४.३० बजेतिर ल्याइएको छ। उनको अन्तिम संस्कार आईतबार गरिने भएको छ। मणिपुरबाट हवाई मार्गबाट बाघडोगरा हवाई अड्डामा हुँदै बेङ्गडुबीबाट सैनिक सम्मानसहित श्रध्दाञ्जली अर्पण गरिएपछि खरसाङको गौरी शंकर चियाबारीस्थित उनको घरमा ल्याइएको छ। उनको अन्तिम संस्कार आईतबार दिउँसो १ बजेतिर गरिने जानकारी प्राप्त भएको छ। शहीद विधान राईको पार्थिव शरीरलाई खरसाङ सोझै खरसाङ बजार ल्याएर शहर परिक्रमा गरिएको थियो। खरसाङको मोटर स्ट्याण्डमा भूतपूर्व सैनिक संगठन, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू र कार्यकर्ताहरू लगायत जनसाधारणले श्रध्दाञ्जली अर्पण गरेका थिए। खरसाङ बजार परिक्रमा गरेर पुन: गौरी शंकर चियाबारीस्थित उनको घर लगेर सैनिक सम्मान गरिएको थियो।

शहीद विधान राईको पार्थिव शरीर उनको घर ल्याउँदा श्रध्दाञ्जली अर्पण गर्नलाई खरसाङको महकुमा शासक आईएएस एजाज अहमद, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ देवराली समष्टिबाट बिजय प्रार्थी श्याम शेर्पा, खरसाङका विधायक बीपी बजगाई, सेनाका अधिकारीहरू, जनसाधारण साथै गाउँलेहरू उपस्थित रहेका थिए।

खरसाङको गौरी शंकर चियाबारी निवासी विधान राईले गत २९ जूनको दिन मात्रै आफ्नो ३९ औं बर्थ डे मनाएका विधान राईले ३० जूनको दिनलाई देख्न पाएनन्। आफ्नो बर्थको भोलिपल्ट नै मणिपुरमा देशको लागि सेवा गरिरहेका विधान राई प्राकृतिक प्रकोप पैह्रोमा परेर देश रक्षामा रहेकै बेलामा आफ्नो ज्यान गुमाएका छन्। उनले आफुपछि वृध्द वृध्दा आमा बाबा, पत्नी सुष्मा तामाङ, दुई छोरी, दाजु -भाउजु र अन्यलाई छोड़ेर गएका छन्। विधान राईको दाजु पिन्टुले पत्रकारहरूलाई जानकारी गराए अनुसार २९ जूनको दिन आफ्नो ३९ औं बर्थ डे मनाएको विधानले २९ जूनको दिन सबैसित खुशीसाथ फोनमा बात मारेको तर भोलिपल्ट ३० जूनको बिहान उक्त घटनामा परेको बताएका छन्।

उनले बताए अनुसार ३० जूनको दिन बिहान १०.३० बजेतिर विधान राईको हेड क्वाटरबाट फोन आएको पैह्रोमा परेको अनि पार्थिव शरीर खोजी कार्य जारी रहेको बताएको अनि १ जुलाईको दिन दिउँसो १.३० बजेतिर फोन आएर पार्थिव शरीर भेटाइएको जानकारी प्राप्त भएको बताएका छन्।