मिरिक: मणिपुर राज्यमा भयावह पैह्रोको चपेटमा परेर मरमा चियाबारी डाँडाधुरा निवासी एघार गोर्खा रेजिमेन्टको १०७ टीए-का ३५ वर्षीय जवान विशाल छेत्री शहीद भएका थिए भने उनको पार्थिव शरिर शुक्रबार उद्धार गरिएको थियो। आज उनको पार्थिव शरिर पैतृक घर मरमा डाँडा धुरामा ल्याएपछि सैनिक सम्मान साथै हिन्दु धर्मअनुसार शहीदको दाह संस्कार गरियो। यो भन्दा अघि उनीसँगै शहीद बनेका पहाड तथा डुवर्सका ११ जना शहीदहरूको पार्थिव शरिरलाई बेङडुबी सैनिक अस्पताल परिसरमा सैनिक सम्मान दिएपछि शव परिवारलाई हस्तान्तरण गरिएको थियो। विभिन्न ठाउँबाट शहीदको पार्थिव शरिर ल्याउनका लागि उनीहरूको परिवारहरूको उपस्थिति रहेको थियो भने मिरिक मरमा चियाबारी निवासी शहीद विशाल छेत्रीको पार्थिव शरिर ल्याउन उनका पिता लालबहादुर छेत्री, पत्नी करिश्मा राई (छेत्री) परिवारका अन्य सदस्यहरू, गत जीटीए चुनावमा मिरिक थर्बु डुप्टिन समष्टिका नव निर्वाचित सभासद मिलेश राईलगायत मरमा चियाबारी अनि मिरिक बस्तीका धेरै मानिसहरू बेङडुबी पुगेका थिए। यता उनको पार्थिव शरिरलाई मिरिकमा भूतपूर्व सैनिक संगठनले पनि श्रद्धाञ्जली अर्पण गरेको थियो। शहीद छेत्रीको दाह संस्कारमा उनका आफन्तजन, ईष्टमित्र, छरछिमेक लगायत शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो। शहीद विशाल छेत्रीले आफूपछि पिता लालबहादुर छेत्री, माता देविशरा छेत्री, पत्नी करिश्मा राई(छेत्री) सात वर्षीय छोरा कबीर छेत्री,ठूली आमा कुशुम छेत्री, दाजु केशव छेत्री अनि निश्चल छेत्रीलाई छाडेर गएका छन्। उनको निधनको खबरले हाल क्षेत्रमा शोकको लहर छाएको छ।


