कुचबिहार: दिनहाटाको गितालदहमा एक गृहशिक्षिकाको घरमा बम विष्फोट भएको छ। यस घटनालाई लिएर दिनहाटा–१ नम्बर ब्लकको गितालदहको वोराम गाउँमा चर्को तनाव देखिएको छ। हिजो राति अशरफुल हक नामक स्थानीय गृह शिक्षकको घरमा बम विष्फोट भएको बताइएको छ। बम विष्फोटका कारण गृह शिक्षकको घर अगाडि रहेको शौचालयको स्ल्याबसहित भान्साका धेरै सामान ध्वस्त भएका छन्। हिजो राति खाना खाएर सुतिरहेको बेला एक्कासी घरअगाडि ठूलो विष्फोटको आवाज सुनिएपछि घर बमको धुवाँले भरिएको गृह शिक्षकले बताए।

यसपछि बाहिर निस्कँदा आफ्नो घर अगाडि बम विस्फोट भएको देखे। उनले आफ्नो परिवार कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको समेत बताए। यसैबीच बम विष्फोटको खबर पाएलगत्तै गितालदह फदीको पुलिस घटनास्थल पुगेको थियो। दिनहाटा पुलिसले उक्त क्षेत्रमा बम विष्फोट किन गराएको भन्ने विषयमा अनुसन्धान थालेको छ। बम विष्फोटका कारण उक्त क्षेत्रमा त्रास फैलिएको छ।










