२४ जुलाईः वेष्ट इण्डिज विरुद्ध पोर्ट अव् स्पेनका जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा पनि भारत जीतको संघारमा पुगेको छ। जीतको निम्ति ३६५ रनको चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजले चौथो दिन खेल समाप्त हुँदासम्म २ विकेट गुमाएर ७६ रन बनायो। यसरी वेष्ट इण्डिजले टेस्ट म्याचको पाँचौं तथा अन्तिम दिन अझ २८९ रन बनाउनु पर्नेछ अनि हातमा ८ विकेट बाँचेको छ। चौथो दिनको खेल समाप्त हुँदासम्म टेगनारायण चन्द्रपल २४ र जेरेमी ब्ल्याकवुड २० रनमा अविजित थिए। चौथो दिन वेष्ट इण्डिजको पहिलो ईनिंग्स २५५ रनमा समाप्त भयो। यसरी पहिलो ईनिंग्सको आधारमा १८३ रनको बढ़त हासिल भयो। त्यसपछि भारतले तेजीको साथ रन बनाउन थाल्यो। यसरी २ विकेटमा १८१ रन बनाएपछि भारतले दोस्रो ईनिंग्स घोषित गर्दा वेष्ट इण्डिजलाई ३६५ रनको लक्ष्य हासिल भयो।
आइतवार वेष्ट इण्डिजले तेस्रो दिनको स्कोर ५ विकेटमा २२९ रनदेखि अघि खेल्न शुरु गऱ्यो अनि बिहानको सेशनमा लगातार विकेटको पतन हुँदा आयोजक टीमको पहिलो ईनिंग्स २५५ रनमा समाप्त भयो। यसरी वेष्ट इण्डिजले आफ्नो अन्तिम ५ विकेट केवल २६ रनमा गुमायो। भारतीय पेस बलर मोहम्मद सिराजले वेष्ट इण्डिजको तल्लो क्रमलाई तहसनहस पारे। सिराजले सर्वाधिक ५ विकेट हासिल गरे। यसबाहेक रविन्द्र जडेजा र मुकेश कुमारले २-२ विकेट लिए। वेष्ट इण्डिजको पहिलो ईनिंग्समा कप्तान क्रेग ब्रेथवेटले सर्वाधिक ७५ रन बनाए।
पहिलो ईनिंग्सको आधारमा बढ़त हासिल गरेपछि भारतले आफ्नो दोस्रो ईनिंग्समा तेज शुरुवात गऱ्यो। कप्तान रोहित शर्मा र यशस्वी जयसवालको ओपनिंग जोड़ीले टी२० क्रिकेटको मिजासमा ब्याटिंग गर्दै मैदानमा चौका र छक्काको वर्षा गरे। यी दुईले मिलेर पहिलो विकेटको निम्ति ७१ बलमा ९८ रनको पार्टनरशीप गरे। रोहितले केवल ३५ बलमा आफ्नो अर्द्धशतक पूरा गरे। भारतले १२.२ ओभरमै १०० रन बनायो, जुन टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि टीमले बनाएको सबैभन्दा तेज १०० रन हो। रोहितले ४४ बलमा ५ वटा चौका र ३ वटा छक्काको साथ ५७ रन बनाए जबकि यशस्वीले ४ वटा चौका र एउटा छक्काको साथ ३० बलमा ३८ रन बनाए। यी दुईजना लगातार अन्तरालमा आउट भएपछि ईशान किशनले शुभमन गिलसँग मिलेर द्रुत रन बनाउने काम जारी राखे। ईशानले आफ्नो अर्द्धशतक पूरा गर्नको साथै भारतले आफ्नो दोस्रो ईनिंग्स घोषित गऱ्यो। ईशानले ३४ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ अविजित ५२ रन बनाए। यसरी शुभमन गिल २९ रनमा अविजित रहे। जवाफमा वेष्ट इण्डिजले दोस्रो ईनिंग्समा पनि रक्षात्मक रणनीति लिएर ब्याटिंग गऱ्यो तर रविचन्द्रन अश्विनले १८औं ओभरमा ब्रेथवेटलाई आउट गरी भारतलाई पहिलो सफलता दिलाए। ब्रेथवेटले २८ रन बनाए। त्यसपछि अश्विनले किर्क म्याकेञ्जीलाई खाता पनि खोल्न दिएनन्। यसरी ४४ रनमा २ विकेटको पतनपछि चाहिँ चन्द्रपल र ब्ल्याकवुडले मोर्चा सम्हाले।










