गान्तोक: इन्द्रेणी प्रकाशन, असमले आयोजना गरेको राष्ट्रियस्तरीय कविता प्रतियोगितामा सिक्किमका कवि एनबी घिमिरेले दोस्रो स्थान ओगट्नु सफल बनेका छन्। उनको ‘म्युजियम पसेको अन्तिम मान्छे’ नामक कविताले उत्कृष्ट दोस्रो स्थान प्राप्त गरेको हो। भारतका विभिन्न प्रान्तबाट लगभग ६० जना भन्दा धेरै कविहरूले यस प्रतियोगितामा भाग लिएका थिए। जसमा तेजपुर असम निवासी हिरण्य पौड्याल पहिलो, सिक्किमका एनबी घिमिरे दोस्रो अनि असम जामगढ़ीका नारायण शर्मा अधिकारी तेस्रो बनेका छन्। असमको गुवाहटीमा कटन विश्वविद्यालय, गुवाहाटीको भाषा, संस्कृति तथा कला केन्द्र अनि इन्द्रेणी प्रकाशनको संयुक्त तत्त्वावधानमा आयोजित दुई दिवसीय राट्रियतहको कविता समारोहमा प्रतियोगिताको फलाफल सार्वजनिक गरिएको थियो भने बिजेताहरूलाई सम्मानपत्र र पुरस्कार राशिले पुरस्कृत गरिएको छ। प्रतियोगितामा सहभागी विभिन्न कविहरूले कविता वाचन पनि गरे।









